उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्र अन्तरमहादेशीय क्षेप्यास्त्र भएको पुष्टि
अमेरिका । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाले सी अफ जापानुमा मंगलबार अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेका छन्।
एउटा लिखित वक्तव्यमा उनले अमेरिकाविरुद्ध प्योङयाङले उत्पन्न गराएको खतरालाई त्यसले प्रतिनिधित्व गरेको उल्लेख गरेका छन्।
बीबीसीका उत्तर अमेरिका सम्पादक भन्छन्, योसँगै उत्तर कोरिया अमेरिकाको अलास्का राज्यसम्म मार हान्न सक्षम भएको छ जसलाई परिस्थिति बदल्न सक्ने विकासक्रमको रुपमा हेरिँदैछ।
तर यो कुरा स्पष्ट भइसकेको छैन कि उत्तर कोरियाको पछिल्लो कदमलाई लिएर थप कस्ता कूटनीतिक प्रतिबन्धहरु लगाइनेछ।
वाशिङटनले पछिल्लो घटनाक्रमबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेको छ।
चीन र रुसले पारमाणविक कार्यक्रम स्थगित गर्न उत्तर कोरियालाई आह्वान गरेका छन्।
उनीहरुले अमेरिका र दक्षिण कोरियालाई संयुक्त सैन्य अभ्यास रोक्न पनि अपील गरेका छन्।
मस्कोमा भएको भेटवार्तापछि चिनियाँ राष्ट्रपति शी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले प्योङयाङलाई आफ्ना पारमाणविक गतिविधि स्थगित गर्न संयुक्त रुपमा आह्वान गरेका हुन्।
दक्षिण कोरियाका राष्ट्रपति मून जाए(इनले प्योङयाङविरुद्ध कदम चाल्न सुरक्षा परिषद्लाई आग्रह गरेका छन्।
यसअघि मंगलबार सी अफ जापानुमा खसेको क्षेप्यास्त्रले विश्वमा रहेको जुनसुकै निशानालाई मार हान्न सक्ने भन्दै उत्तर कोरियाली टेलिभिजनमा घोषणा गरिएको थियो।
प्योङयाङले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रको पहिलो सफल परीक्षण भएको बताएको छ।
अमेरिकी अधिकारीहरुले उत्तर कोरियाले अलास्कासम्म क्षेप्यास्त्र आक्रमण गर्न सक्ने ठाने पनि कतिपय विज्ञले त्यसप्रति आशंका व्यक्त गरेका छन्।