अध्ययन बिदा सकेर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौँ, ३ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर पढाइ पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको छ। त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिमा अनिवार्य सम्पर्कमा आउन निर्देशन दिएको हो।

समितिका अनुसार अध्ययन बिदा उपभोग गरेपश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका तथा तोकिएको सेवा अवधि पूरा नगरी शिक्षण संस्था छाडेका शिक्षक तथा कर्मचारीहरूले १५ दिनभित्र समितिको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ। तोकिएको समयसीमाभित्र सम्पर्कमा नआए सम्बद्ध प्राध्यापक तथा कर्मचारीहरू विरुद्ध विश्वविद्यालयसँग गरिएको कबुलियतनामा (सम्झौता) र नियम बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइने सूचनामा स्पष्ट पारिएको छ।

अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट त्रिविले हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी बक्यौता रकम असुल गरिसकेको छ। त्रिविले दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने विशिष्ट उद्देश्यका साथ प्राध्यापकहरूलाई विशेष सुविधा स्वरूप अध्ययन बिदा प्रदान गर्ने गरेको जनाएको छ।

केही प्राध्यापकहरूले अध्ययन बिदाको दुरुपयोग गर्दै अध्ययन पूरा भएपछि पनि सेवामा नफर्किँदा विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा क्षति पुगेको त्रिविको ठहर छ।