कांग्रेस–माओवादीले मार्कोस र हिटलर बन्न खोजे — केपी शर्मा ओली,अध्यक्ष, नेकपा एमाले

एमालेका उम्मेदवार देवी ज्ञवालीले जित्ने निश्चित भएपछि माओवादीका केही कार्यकर्ताले जेठ १४ गते मध्यरातमा मतपत्र च्यातेपछि त्यहाँको मतगणना स्थगन मात्र भएन । कांग्रेस–माओवादी गठबन्धन सरकारले सत्ताका चरम दुरुपयोग गर्दै पुनः निर्वाचन आयोग र सर्वोच्चलाई समेत पुनः मतदान गर्ने फैसला सुनाउन बाध्य बनायो । भरतपुर वडा नम्बर–१९ मा पुनः मतदान साउन २० अर्थात भोलि हुँदैछ । यो विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मैत्रीन्युज डटकमका लागि मोहन बास्तोलाले उहाँकै निवास बालकोटमा गरेको संक्षिप्त कुराकानीः

भतरपुर घटनालाई कसरी लिनु भएको छ ?

जनताको मतलाई स्वीकार गर्ने र अबाञ्चित तत्व अथवा गैरकानुनी अपराधिक क्रियाकलापलाई प्रोत्साहन दिने काम भरतपुरमा भएको छ । यो असाध्यै खेदजनक छ । जनताको मतलाई अस्वीकार गर्ने परिपाटीको विकास भरतपुरमा भएको छ । मतपत्र च्यात्नु हुँदैनथ्यो । मतपत्र च्यातिएपछि अवाञ्चित गतिविधिलाई प्रोत्साहित गर्ने गरी यत्रो समय लगाएर सर्वोच्चले निर्णय गर्न पनिजरुरी नै थिएन ।

भनेपछि यी सबै काम योजनाबद्ध रुपमै भएका छन् भन्ने तपाईँको भनाई होइन त ?

भरतपुरमा यसो गर्ने भनेर तयारी नै गरेर मतपत्र च्यातिएको हो । त्यसको घुमाईफिराई एकपछि अर्को, एकपछि अर्को कुराले पुष्टि गर्दै गएको छ । त्यहाँ निर्वाचन अधिकृतले तत्काल बोलेका कुरा दीर्घकालिन संकेत हुन् । अहिले हामी जनु तरिकाले पुनः निर्वाचनमा पुगेका छौँ । यो त मतदान अधिकृतको त्यतिबेलाको भाषाले नै त्यो बोलेको थियो । त्यो एकदमै योजनाबद्ध ढंगले भएको छ भन्ने कुरा घाँम जस्तै छर्लङ्ग छ ।

तर, एमालेले त निर्वाचन जानका लागि स्वीकार गर्यो नि ?

नेकपा (एमाले) व्यक्तिका लागि होइन देश र लोकतन्त्रका निम्ति लड्ने पार्टी हो । भरतपुरमा जे हुनुहुँदैनथ्यो त्यही भयो । हामीले हार्ने जत्नेलाई भन्दा पनि लोकतन्त्रलाई बढी विश्वास गरेका हौँ । त्यहाँ एमालेले जति पटक मतदान भए पनि जित्छ । त्यसमा केही भएन । तर, निर्वाचनमा सबैखाले अनुचित क्रियाकलाप वा हर्कतहरु गर्ने प्रयास हुनेछन् । मतपत्र च्यात्नेले अरु के बाँकी राख्लान र ? त्यो सबै प्रयास हुने नै छ । हामीले त्यसको खवरदारी गर्नुपर्ने भएको छ ।

भनेपछि भरतपुरमा एमालेले जित्छ, होइन त ?

मैले अघि नै भने, जित्ने एमालेले नै हो । फेरि पनि भरतपुरमा एमालेले अग्रता कायम गर्ने छ । फेरि पनि मतपत्र च्यात्ने हर्कत हुनेछ । एमालेले जित्ने निश्चित भयो भने फेरि पनि निर्वाचन गर्ने प्रयासहरु हुनेछन् । जनताको मतबाट प्राप्त परिणाम कांग्रेस–माओवादीलाई मन पर्दैन । जनताको मतबाट प्राप्त परिणाम स्वीकार नगर्नेहरुले फेरि पनि त्यो प्रयास गरे भने अनौठो हुँदैन । वडा नम्बर–१९ को पुनः मतदानबाट पनि परिणाम आफ्नो पक्षमा आएन भने उनीहरुले पूरै महानगरपालिका भरी पुनः निर्वाचन गर्नुपर्छ भनेर जिद्धी पनि गर्न सक्छन् ।

कांग्रेस–माओवादीको यस्तो शैलीलाई एमालेले चाहिँ टुलुटुलु हेरेर बस्ने हो ?

जब राज्य तानाशाही बन्छ, राज्यका सबै निकाय र अंङ्गहरुलाई त्यस्तै दवाव दिइन्छ । फिलिपिन्सका पूर्वराष्ट्रपति फर्डिनान्ड मार्कोस निर्वाचनकै माध्ययमबाट आएका थिए । हिटलर पनि निर्वाचनकै माध्ययमबाट आएका थिए । धेरै तानाशाहहरु निर्वाचनका माध्ययमबाट आएका थिए । तिनीहरुले राज्यका विभिन्न अंङ्ग र न्यायलयलाई नियन्त्रण गर्दै गए । पहिला प्रशासनिक अंङ्गलाई नियन्त्रण गर्दै गए । त्यसपछि अन्य अंङ्गहरुलाई निष्प्रभावी बनाउने हर्कत गरे । अहिले यहाँ यस्तै कर्हत भैरहेको छ । यहाँ आफ्नो स्वेच्छाचारीता लाद्ने प्रयास भैरहेको छ । यहाँ शासकीय स्वेच्छाचारिता हावी भएको छ । भन्नु–नभन्नु बेग्लै कुरा हो । अरु अङ्ग अहिले दमित भएका छन् । यस्तो अवस्थामा उनीहरुले आफू अनुकुलको परिणाम ल्याउने गरी हर्कत नगर्लान भन्न सकिन्न ।

माओवादीले त सर्वोच्चले न्याय गरो भनेको छ । एमालेलाई चाहिँ न्याय नगरेको हो ?

मतपत्र च्यात्ने माओवादीको कस्तो निर्लज्ज अभिव्यक्ति ‘ढिलै भए पनि न्याय पायौँ’ भनेर माओवादी भन्छ । के–हो न्याय भनेको ? न्याय भन्ने शब्दको पनि हुर्मत लिने काम भयो । न्याय भन्ने विचरो शब्द कठैबरी ! न्याय भनेको अपराध कर्म ढिलै भए पनि सदर भयो भन्ने हो ? मलाई दया लागेको छ ।

सर्वोच्चको फैसला एमालेलाई चित्त बुझेको हो ?

सम्मानित सर्वोच्च अदालतले फैसला गर्यो । हामीले मान्यौ । तर, अदालतका सबै फैसला सही नै हुन्छन् भन्ने छैन । त्यसका पछाडि धेरै वटा कारण हुन सक्छन् । कारणतिर नआजौँ । फैसला भैसकेको छ । हामी त्यो फैसलालाई स्वीकार गर्छौ । मतपत्र च्यात्ने अपवित्र गठनबन्धनतिरै जनताको अभिमत जान्छ भन्ने छैन । ‘कानुनले मतपत्र च्यात्नेहरुको पक्ष लियो होला तर न्याय भएन । न्याय चाहिँ जनताले दिनेछन्’ एक जना स्थापित पत्रकारले लेखेको कुरा स्मरण गर्न चाहन्छु । । म पनि त्यही भन्छु ।

प्रदेश नम्बर–२ मा यही असोज–२ गते निर्वाचन हुँदैछ । एमालेको पोजिसन के–होला ?

प्रदेश नम्बर–२ को निर्वाचन असोज–२ मा हुँदैछ । त्यसमा कुनै दायाँबायाँ हुने छैन । त्यही मितिमा निर्वाचन हन्छ । एमाले प्रदेश नम्बर–२ मा कम्तीमा प्रमुख पार्टी बन्छ ।