बार्सिलोनामा आतंकवादी आक्रमण: १३ जनाको मृत्यु , १०० भन्दा बढी घाइते

maitrinews

बार्सिलोना । स्पेनको वार्सिलोनमा भएको आतंकवादी आक्रमणमा १३ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । स्पेनको प्रहरीले बार्सिलोनामा नियतबस मानिसहरुको भीडमा भ्यान कुदाएको ड्राइभरको खोजी गरिरहेको बताएको छ।
बार्सिलोनाको सबभन्दा प्रख्यात पर्यटकीय क्षेत्र लस र्यामब्लासमा तीब्र गतिमा बाङ्गोटिङ्गो गाडी जोताइँदा बाटोमा मानिसहरु ढलेका थिए र ज्यान जोगाउन भागदौड मच्चिएको थियो।
स्पेनका प्रधानमन्त्री मारियानो राखोईले जिहादी आतंकवादलाई दोष जाने बताए। इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ।
त्यसैगरी,स्पेनमा भएको एउटा विशाल प्रहरी कारवाहीमा गोलीप्रहार भएको र पाँचजना संदिग्ध आतंककारीहरु मारिएको अधिकारीहरुले बताएका छन्।
संदिग्ध आतंककारीहरुले आत्मघाती जस्तो देखिने पेटि बाँधेको अधिकारीहरुले बताएका छन्।
क्याटलोनियाको क्षेत्रीय सरकारले आक्रमणकारीहरुले पैदलयात्रुमाथि कार जोताउन खोजेपछि क्याम्ब्रिल्समा प्रहरीले गोली प्रहार गरेको बताएको छ।
पछिल्लो तेह्र महिनामा आइएसले लण्डन, स्टकहोम सहितका युरोपेली शहरहरुलाई निशाना बनाउँदै आएको छ।