किस्पाङ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न : किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम
काठमाडौँ, असार ३ । नुवाकोटको किस्पाङ गाउँपालिकाद्वारा आयोजित ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’ अन्तर्गतको वार्षिक लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालयले प्रथम स्थान हासिल गरेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार वडा नं. ३ स्थित ऐँसेलु भूमे माध्यमिक विद्यालयमा सोमबार सम्पन्न प्रतियोगिताको समूहगत नृत्यतर्फ ‘नानी त रैछौँ…’ बोलको गीतमा उत्कृष्ट प्रस्तुति दिँदै शिक्षालयले पहिलो स्थान प्राप्त गरेको हो । प्रतियोगितामा ‘म्हेन्दोमाया’ नृत्यमार्फत ऐँसेलु भूमे माध्यमिक विद्यालय दोस्रो र तामाङ सेलो नृत्यमार्फत पञ्चलिङ्गे माध्यमिक विद्यालय तेस्रो भएका छन् ।
विजेता विद्यालयहरूलाई गाउँपालिकाका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, प्रवक्ता प्रकाश तामाङ डिमडिङ, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडा लगायतले क्रमशः ९ हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
यसैगरी, एकल नृत्य विधातर्फ ऐँसेलु भूमे माविका लुइस तामाङ प्रथम, साल्मे माविका पवित्र विक द्वितीय र होली भिजन पब्लिक बोर्डिङ स्कुलका रवि तामाङ तृतीय हुनुभएको छ । एकलतर्फका विजेताहरूलाई क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा सामुदायिक र संस्थागत गरी कुल १३ वटा विद्यालयको सहभागिता रहेको थियो । नृत्य निर्देशक याम गुरुङको संयोजकत्वमा रहेको निर्णायक समितिले विद्यार्थीहरूको प्रस्तुति, वेषभूषा, ताल, हाउभाउ र स्टेज कभरका आधारमा मूल्याङ्कन गरेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष न्यौपानेले विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभाको पहिचान गरी उनीहरूलाई राष्ट्रियस्तरसम्म पुर्याउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस्तै, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले यस्ता प्रतियोगिताले विद्यार्थीको सर्वाङ्गीण विकास र सामाजिक चेतना विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख सरोज अधिकारीका अनुसार ‘किस्पाङ प्रतिभाको खोजी कार्यक्रम’ अन्तर्गत आगामी बिहीबार वक्तृत्वकला र चित्रकला प्रतियोगिता समेत आयोजना गरिनेछ ।