ग्वाञ्जाओमा नेपाली महावाणिज्यदूतको कार्यालय

maitrinews

 

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले चीनको ग्वाञ्जाओस्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयको आज उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा मन्त्री महराले नेपाल र चीनबीचको आर्थिक र वाणिज्य गतिविधि तथा दुई देशका जनताबीचको सम्बन्धलाई बढावा दिने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, आजै मन्त्री महरा त्यहाँ नेपालमा लगानीको अवसरबारे आयोजित एक कार्यक्रममा सहभागी हुनुभयो । उहाँले नेपालमा विविध क्षेत्रमा लगानीका अवसरबारे चिनियाँ व्यवसायीलाई जानकारी गराउँदै पर्यटन, पूर्वाधार, कृषि उद्योग कलकारखाना, दूरसञ्चार प्रविधिलगायत क्षेत्रमा लगानीको प्रचूर सम्भावना रहेको अवगत गराउनुभएको थियो ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले सहभागीले उठाएको प्रश्नको जवाफ दिनुभएको थियो भने सोही अवसरमा नेपालका लागि ग्वाञ्जाओ महावाणिज्यदूत रभी भट्टराईले नेपालमा लगानी अवसरबारे प्रस्तुति गर्नुभएको थियो ।