धनुषामा मतदातालाई पैसा बाँड्दै गरेका काँग्रेसीहरुलाई रोक्दा एमाले कार्यकर्तामाथि सांघातिक आक्रमण, पासवानको अवस्था चिन्ताजनक

जनकपुरधाम । धनुषामा चुनाव हार्ने निश्चित भएपछि काँग्रेस नेता विमलेन्द्र निधिको निर्देशनमा एमाले कार्यकर्तामाथि सांघातिक आक्रमण भएको छ । गएराति भएको आक्रमणमा  थुप्रै एमाले कार्यकर्ता घाइते भएका छन् । भोलि हुने स्थानीय तहको निर्वाचनको मौन अवधि जारी रहेका बेला धनुषामा सो घटना भएको हो ।  

 नगराईन नगरपालिका वडा नम्बर ८ अकौरा गाँउमा मौन अवधिको बेला शनिबार अबेर राति मतदातालाई पैसा बाँड्दै गरेका काँग्रेस नेता तथा कार्यकर्तालाई सो काम नगर्न आग्रह गर्दा एमालेमाथि आक्रमण गरेका थिए ।  आक्रमणमा गम्भीर घाइते भएका ईन्द्रकुमार पासवान र अरबिन्द कुमार पासवानको जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ। टाउको, कन्चट र अनुहारमा धारिलो हतियारले प्रहार भएकाले ईन्द्रकुमार पासवानको अबस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। अरविन्दको टाउकोमा गम्भीर चोट लागेको छ।

घाईते अरविन्द पासवानका अनुसार मतदाता आकर्षित गर्न कांग्रेसले आर्थिक चलखेल गर्न सक्ने भएकाले आफूहरु रातभर गाउँमा जागराम बसेर घुमिरहेका बेला कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।