विश्व प्रेस स्वतन्त्रता दिवसः पत्रकार महासङ्घद्वारा काठमाडौँमा ऐक्यबद्धता पदयात्रा
काठमाडौँ, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घले आज राजधानी काठमाडौँमा ‘ऐक्यबद्धता पदयात्रा’ आयोजना गरेको छ।
‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको पदयात्रा बिहान माइतीघर मण्डलाबाट सुरु भई नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा सञ्चारकर्मी, मानव अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले महासङ्घको ‘प्रेस स्वतन्त्रता अवस्था वार्षिक प्रतिवेदन’ सार्वजनिक गरे। सो अवसरमा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारकै अभिन्न अङ्ग भएको स्पष्ट पार्दै भने, “प्रेस स्वतन्त्रताको हनन भएमा आयोग सधैँ यसको रक्षार्थ उभिनेछ।”
कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नेपालको संविधानले नै सुनिश्चित गरेको मौलिक हक भएकाले यसलाई कुनै पनि बहानामा कुण्ठित गर्न नपाइने धारणा राखिन्। उनले पत्रकारहरूको पेसागत सुरक्षा र मिडियामैत्री कानुन निर्माणमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिइन्।
त्यसैगरी, नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको अवरोध वा अड्चन आए कानुन व्यवसायीहरू सधैँ पत्रकारको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे। उनले प्रेस स्वतन्त्रताको रक्षाका लागि बारले कानुनी उपचार र नैतिक समर्थन दुवै प्रदान गर्ने बताए।
हरेक वर्ष मे ३ तारिखका दिन विश्वभर ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइने गरिन्छ। नेपालमा पनि पत्रकारहरूको पेसागत हकहित र स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ।