इरान–अमेरिकाको हठ र चीनको घोषणाले इरान–इजरायल युद्ध अन्त्यको संभावना न्युन
काठमाडौं । इरान–इजरायल–अमेरिका युद्ध तत्कालै अन्त्य हुने संभावना न्युन देखिएको छ । एकातिर इरानबाट तेल किन्ने पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने घोषणा गरेर नयाँ हलचल ल्याइदिएको छ भने अर्कोतर्फ इरानको प्रस्तावमा अमेरिका सन्तुष्ट बन्न सकेको छैन ।
चीनको वाणिज्य मन्त्रालयले वक्तव्य जारी गर्दै अमेरिकाले लगाएको प्रतिबन्ध नमान्ने घोषणा गरिसकेको छ । चीनले निकालेको बक्तव्यमा ‘यी प्रतिबन्धहरूले अन्य देशहरूसँग सामान्य आर्थिक तथा व्यापारिक गतिविधि सञ्चालन गर्न चिनियाँ कम्पनीहरूलाई रोक लगाउँछन् । यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको उल्लंघन गर्दछ’ भन्दै अमेरिकाको प्रतिबन्धलाई मान्यता नदिने स्पष्ट सन्देश दिएको छ । उस्ले चिनियाँ कम्पनी तथा संस्थाहरूलाई ती प्रतिबन्ध लागू नगर्न निर्देशन समेत दिएको छ ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीलाई पनि इरानले नटेर्ने संकेत गरिसकेको छ । इरानको हठलाई कमजोर बनाउन ट्रम्पले आफ्नो हठ छाडेको देखिन्न । यो भनेको दुबै देश युद्ध अन्त्य भन्दा पनि हठ नछाड्ने तयारीमा रहेको देखिन्छ । इरानले विगतका वर्षहरूमा गरेको गतिविधिका कारण विश्व र मानवतामाथि गम्भीर असर परेको भन्दै हालको प्रस्तावप्रति आशावादी हुन नसकिने धारणा ट्रम्पको छ ।
उनले पत्रकारहरूसँगको कुराकानीमा पनि इरानमाथि भविष्यमा पुनः सैन्य कारबाही हुन सक्ने सम्भावनालाई स्वीकार गरेको देखिन्छ । ‘उनीहरूले गलत व्यवहार गरे वा कुनै समस्या सिर्जना गरे भने त्यस्तो कदम उठ्न सक्छ, तर अहिले हामी परिस्थितिको मूल्याङ्कन गर्दैछौँ’ भन्दै ट्रम्पले आफ्नो धम्की कायमै राख्नुभएको देखिन्छ । यसैबीच, इरानले मध्यस्थकर्तामार्फत पठाएको १४ बुँदे शान्ति प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्ने तथा महत्वपूर्ण हर्मुज जलमार्गका लागि नयाँ व्यवस्थापन ढाँचा तयार गर्ने प्रस्ताव समावेश गरिएको छ ।
इरानी सैन्य नेतृत्वका एक वरिष्ठ अधिकारीले अमेरिका र इरानबीच पुनः द्वन्द्व हुने सम्भावना उच्च रहेको बताएका छन् । उहाँले अमेरिकाले विगतका कुनै पनि सम्झौता पूर्ण रूपमा पालना नगरेको आरोप पनि लगाएका छन् ।
त्यस्तै, इरानका उपविदेशमन्त्रीले अब शान्ति वा टकरावको बाटो रोज्ने निर्णय संयुक्त राज्य अमेरिकाको हातमा रहेको बताउँदै, तेहरान दुवै अवस्थाका लागि तयार रहेको स्पष्ट गर्नुभएको छ ।
हर्मुज जलमार्गमा जारी तनावका कारण तेल आपूर्ति प्रभावित भएको छ, जसले विश्व बजारमा मूल्य वृद्धि गराएको छ । यसैबीच, इरानको अर्थतन्त्रमा पनि युद्धको असर गहिरिँदै गएको छ, जसका कारण तेल निर्यात घटेको र मुद्रास्फीति उच्च स्तरमा पुगेको बताइएको छ ।