नेपालको आर्थिक समृद्धिको नेतृत्व एकीकृत कम्युनिस्ट पार्टीले गर्नेछ —
विष्णु पौडेल,उपमहासचिव,एमाले

 

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच तालमेल कसरी सम्भव भयो ?

यो निल्ने र मिल्ने प्रश्नै होइन । एमालेले कहिल्यै कसैलाई निल्न खोजेको थिएन । अहिले हामी पर्याप्त छलफलपछि पार्टी एकता गर्ने निर्णयमा पुगेका छौं । त्यसैले एमालेले माओवादीलाई निल्न खोज्यो भन्ने कुरा गलत हो । एमाले र माओवादीबीच बिगत १० वर्षदेखि पार्टी एकताका प्रयास भइरहेको थियो, त्यो प्रयास अहिले सार्थक भएको छ । हामी अहिले चुनावी तालमेलबाट एकीकरणको आरम्भ गर्दैछौं ।

चुनावी तालमेललाई सहज बनाउनका लागि मात्र पार्टी एकीकरणको कुरा गरेर पार्टी पंक्तिलाई आश्वस्त पार्न खोजिएको आशंका पनि छ नि ?

पार्टी एकीकरण संयोजन समिति समेत गठन भइसकेको छ । दुवै पार्टी एउटै घोषणापत्र लिएर चुनावमा जाँदैछन् । पार्टीको विधान र घोषणापत्र मस्यौदा समिति बनिसकेको छ । हामी यही चुनावमा एउटै नेपाल कम्युनिस्ट पार्टीको नाममा सूर्य चिन्ह लिएर चुनाव लड्ने निष्कर्षमा पुगेका हौं । तर, कानुनी र प्राविधिक कारणले अहिले एउटै चिन्ह लिएर लड्न नमिलेका कारण मात्र चुनावपछि पार्टी एकीकरण हुने भएको हो ।

पार्टी एकीकरणपछि पार्टीको नेतृत्व कसले गर्छ अनि प्रधानमन्त्री को बन्छ ? यो पनि त सहमति भएको होला नि ?

अहिले हामीले पार्टी एकता संयोजन समिति बनाएका छौं । केपी ओली र प्रचण्ड दुवै प्रमुख नेता हुनुहुन्छ । एकीकरणपछि को अध्यक्ष बन्ने भन्ने कुरा अहिले तय भएको छैन ।

तर, यति बुझ्नुस् नेतृत्वको विवाद हुने छैन । ओली र प्रचण्ड दुई पार्टीका अध्यक्ष हुनुहुन्छ । एमाले, माओवादी र नयाँशक्ति पार्टी मिल्दा हाम्रो पार्टीमा पाँच जना त भूतपूर्व प्रधानमन्त्री नै हुनुहुनेछ । भविष्यका प्रधानमन्त्रीको बारेमा हामीलाई कुनै समस्या नै छैन ।

कांग्रेसले माओवादीसँग तालमेल गर्ने देखेर एमाले आत्तिएर ६० र ४० को प्रस्तावमा पुग्यो, खासमा ०७० को संविधानसभा चुनाव र ०७४ को स्थानीय तहको चुनावी परिणामअनुसार माओवादीको हैसियत ४० प्रतिशत होइन भन्ने टिप्पणी पनि भइरहेका छन् नि ?

त्यस्ता टिप्पणी हाम्रो पार्टीभित्रबाट होइन, एकता भाँड्न चाहनेहरुबाट भएका होलान् । एमाले कार्यकर्ताले भन्थे भने तपाईंलाई भन्दा पहिले मलाई भन्थे । चुनावी तालमेलका सन्दर्भमा हामीले लामो छलफलपछि टुंगो लगाएको विषय हो ।

हामी पश्चदर्शी भएर चल्दैनौं । अगाडिका सम्भावना र चुनौति हेरेर अघि बढ्छौं । हामी ०७० को चुनावमा कसले कति प्रतिशत जित्यो रु ०६४ मा कसले जित्यो भन्दै ०१५ को चुनावमा पुग्न चाहदैनौं ।

यो चुनावी तालमेल मंसिर ०७४ को निर्वाचनका लागि हो । हामी सामान्य बहुमत होइन दुई तिहाई बहुमतका लागि काम गरिरहेका छौं ।

बाबुराम भट्टराई र हृदयेश त्रिपाठीहरुले पाउने सिट पनि एमालेको ६० प्रतिशतबाटै हो ?

यसबारेमा हामीले ठोस मोडालिटी बनाउनेछौं । हाम्रा नेताहरुले अस्ति पनि भनिसक्नुभएको छ । यो गठबन्धनमा वामपन्थी, देशभक्त शक्ति र समूहहरु आउन सक्छन् । उनीहरुलाई पनि सामेल गराउँदै बाँकी रहेका सिटमा ६०र४० गर्ने भनेको हो ।

तालमेलमा माओवादीले बढी पायो भन्ने कुराले एमालेमा असन्तुष्टि नै छैन त ? जबकि, एकताको कुराले माओवादीमा कतिपय नेताले विद्रोह गर्ने भनिसके होइन र ?

एमालेमा यो चुनावी तालमेल र पार्टी एकीकरणबारे कुनै असन्तुष्टि वा विवाद पटक्कै छैन । १५ असोजको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षले उहाँ र प्रचण्डबीच भएको सम्झौता पढेर सुनाउँदा बैठकले अत्यन्त उत्साहका साथ त्यसलाई अनुमोदन गरेको छ । केन्द्रीय कमिटी बैठकले नै अहिलेको सत्ता गठबन्धन मुलुकका लागि अनुपयुक्त र घातक भएकाले माओवादीसँग छलफल गर्न म्यान्डेट दिएको हो ।

स्थानीय तहको चुनावमा कांग्रेस माओवादी तालमेलका कारण कतिपय ठाउँमा तपाईंहरु पराजित भएकाले पनि यसपटक माओवादीलाई कांग्रेसबाट खोस्न खोज्नुभयो, होइन ?

यो खोस्ने वा तान्ने भन्ने कुरै होइन । तपार्इंहरुले यति हल्का रुपमा लिइदिनुभएन । यो भनेको सामान्य चुनावी तालमेल मात्र होइन । यो त नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने कुरा हो । ०६३ सालदेखिको निरन्तर छलफल र प्रयासबाट आज हामी एउटै पार्टी बनाउने विन्दुमा पुगेका छौं ।

जहाँसम्म कांग्रेस–माओवादी तालमेलको कुरा छ, त्यो कति सफल, असफल भयो उहाँहरुले मूल्यांकन गर्ने कुरा हो । कांग्रेससँगको तालमेल माओवादीका लागि कति लाभदायी भयो यो अलग कुरा हो । तर, अब हामी तालमेल हुँदै एकीकरणको बाटोमा बढेका छौं । कांग्रेससँगको तालमेल अप्राकृतिक थियो, हामीले माओवादीलाई भनेका थियौं ।

तपाईंहरुले त कांग्रेस–माओवादी तालमेल हुँदा पनि आम रुपमा देशभरिको स्थानीय तह निर्वाचनमा पहिलो बन्नुभएकै थियो, अहिले किन डराउनुभयो ?

यो एकता डराएर भएको होइन । समय र मुलुकको आवश्यकताका आधारमा भएको हो । अब नेपाल आर्थिक समृद्धिको बाटोमा जानुपर्छ, त्यसको नेतृत्व एकीकृत कम्युनिस्ट पार्टीले गर्छ ।

जहाँसम्म स्थानीय चुनावको कुरा छ, नेपालको इतिहासमा २०४७ पछिको अवस्था हेर्दा स्थानीय चुनावमा जुन पार्टी सरकारमा छ, त्यसले जित्ने गरेको छ । मदन भण्डारीजस्तो लोकिप्रय नेताको नेतृत्वमा चुनावमा जाँदा पनि ०४९ को स्थानीय चुनावमा हामी पराजित भयौं । कांग्रेसले करिब–करिब स्विप गरेको हो ।

२०५४ सालमा एमाले सरकारमा थियो, उपप्रपधानमन्त्री भए पनि वामदेव गौतम प्रधानमन्त्रीकै हैसियतमा हुनुहुन्थ्यो । हामीले स्थानीय चुनावमा क्लिन स्विप नै गरेका हौं । तर, यसपटक विल्कुल फरक देखियो । कांग्रेस र माओवादी सरकारमा छन् । उनीहरुले एमालेविरुद्ध तालमेल पनि गरेका छन् । एमाले प्रतिपक्षमा छ ।

चुनावमा एमालेले जित्यो, पहिलो दल भयो । वास्तवमा यो चिजको अहिलेसम्म नेपालमा व्याख्या विश्लेषण भएको छैन ।

यसको मतलव माओवादी र एमाले मिलेर जाँदा त कांग्रेसलाई निकै तल पार्न सकिन्छ भन्ने हो ?

हामीले यो गठबन्धन वा एकता कांग्रेसविरुद्ध गरेको होइन । मुलुकको पक्षमा गरेको हो । स्थानीय चुनावमा त कांग्रेसले एमालेविरुद्ध गठबन्धन गर्न कुनै पनि दल बाँकी राखेन ।

तर पनि, उसले जित्न नसकेपछि माओवादीले एक खालको समीक्षा गरेको हुनुपर्छ । कांग्रेसले कतिपय जिल्ला माओवादीसँग वा एक वा दुई दलसँग मात्र होइन, आठ वटा दलसँग मिलेर एमाले हराउन खोजेको हो । महागठबन्धनको प्रयास नै गरेको हो । तर, कांग्रेसको महागठबन्धनलाई स्थानीय चुनावले नै परास्त गरिसकेको छ ।