हिमाल, पहाड र तराईका जनताबीच फाटेको मन जोड्ने पार्टी एमाले मात्रै हो : गंगानारायण यादव,निवर्तमान उपसभामुख
४० वर्षदेखि निरन्तर रुपमा पञ्चायवादी दलमा रहेर काम गर्नुभएको गंगानारायण यादव शनिबार औपचारिक रुपमा एमाले प्रवेश गर्नुभयो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा एमाले अध्यक्ष ओलीले नै टिका लगाएर उहाँलाई एमाले प्रवेश गराउनुभयो । शुक्रबार अन्त्य भएको व्यवस्थापिका संसद्का उपसभामुख समेत रहनु भएका यादवले संसद्को आयू समाप्त भएकै भोलिपल्ट एमाले प्रवेश गर्नुभएको हो । उहाँले एमाले प्रवेश गर्ने क्रममा नै आफू कक्षा दशमा अध्ययनरत छदाँ नै कम्युनिष्टप्रति आस्था भए पनि ढिलोगरी प्रवेश गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उपसभामुख नभएको भए केही पहिला नै एमाले प्रवेश गर्ने सोच बनाएको समेत उहाँले खुलमखुल्ला बताउनुभयो । ‘कमल थापाले मलाई उपसभामुख बनाउनु भएको छ । त्यसैले नैतिकताका आधारमा पनि मैले एमाले प्रवेश गर्न मिलेन । संसद्को आयू सकिएपछि मैले एमाले प्रवेश गरेँ,’ उहाँले भन्नुभयो । यादवसँग नेपालको पछिल्लो राजनीति, एमाले प्रवेशको कारणलगायतका विषयमा केन्द्रित भएर मैत्रिन्युज डटकमका लागि मोहन बास्तोलाले गरेको कुराकानीः
तपाईँ औपचारिक रुपमै एमाले प्रवेश गर्नुभएको छ । एमालेमा के देखेर प्रवेश गर्नुभयो ?
मैले ४० वर्षसम्म कमल थापालाई साथ दिए । म कक्षा दशमा अध्ययरत छदाँ नै कम्युनिष्ट विचारधाराबाट प्रभावित थिएँ । तर, विभिन्न कारणले म पञ्चायवादी दलमै आवद्ध रहेँ । मैले सानै उमेरदेखि मन पराएको कम्युनिष्ट पार्टी अझ त्यसका पनि मैले राष्ट्रवादी पार्टीका रुपमा बुझेको दल एमालेमा प्रवेश गरेको छु । मलाई खुशी लागेको छ । यसको मतलव ४० वर्षपछि कमल थापाको साथ छाड्नु भयो होइन त ? मैले राजनीतिमा जुन सफलता प्राप्त गरेँ त्यो सबै उहाँकै कारण हो । मलाई उहाँले नै उपसभामुख बनाउनुभयो । मलाई यो ठाउँसम्म ल्याउने पार्टी पार्टी छाडेकोमा मलाई पिर छ । मेरो मायाँ अझै पनि राप्रपामा छ । तर, मैले देश र नेपाली जनताको भविष्यका लागि सोच्ने हो भने त्यो पार्टीमा बसिरहनुको औचित्य देखिन । राप्रपा पार्टी छाड्न म बाध्य हुनुका केही कारणहरु छन् । पहिलो भनेको अब नेपालमा रहेन भनेको दुई वटा मात्र दल हुन् । लोकतान्त्रिक विचारधाराको नेतृत्व गर्ने नेपाली कांग्रेस र वाम प्रगतिशील विचारधाराको नेतृत्व गर्ने नेकपा एमाले । स्थानीय निर्वाचनमा नेपाली जनताले पनि त्यही सन्देश दिए । अब कहिले एमाले कहिले कांग्रेससँग मिल्ने र देशलाई अस्थिर बनाई रहने राजनीतिक दलको अन्त्य हुनुपर्छ भन्ने मत जनताको बढी देखियो । त्यसैले मैले राजनीति गरेर देशको समृद्धि अनि नेपाली जनताको समृद्धिको सपना पूरा गर्ने हो भने ती मध्ये कुनै एक दल रोज्नु पर्ने भयो । मैले दुई मध्ये एक रोज्दा एमाले रोजेको हुँ ।
तपाईँ मधेसवादी दलमा पनि त आवद्ध हुन सक्नुहुन्थ्यो नि । अहिले ती दलको पनि राम्रै अवस्था छ ?
मधेसवादी क्षेत्रीय दल हुन् । क्षेत्रीय दलको पनि भविष्य छैन । त्यसैले म त्यहाँ गइन । म पनि मधेसी हुँ । म नि मधेसको नगरिक हुँ । धेरैले पार्टी नै प्रवेश गर्ने हो भने मधेसवादी दलमा नै गर्दा हुन्थ्यो नि ? त्यहाँ बसेर मधेसी जनताको हितमा काम गर्न सकिन्थ्यो पनि भने । तर, त्यो होइन, ठूलो पार्टी मधेका पक्षमा नरहुन्जेल मधेसको हित हुँदैन । अहिले हिमाल, पहाड र तराईका जनताबीच मन फाटेको छ । हिमाल, पहाड र तराईका जनताबीच फाटेको मन जोड्न एमालेको निकै महत्वपूर्ण भूमिका हुन्छ । मैले यही कुरा एमाले अध्यक्ष ओलीसँग पनि गरेँ । उहाँले पनि मलाई स्वागत छ । आउनुहोस् । मिलेर काम गरौँ भन्नुभयो । म उहाँको विकासप्रेम र राष्ट्रियताबाट प्रभावित थिएँ । त्यही भएर एमाले प्रवेश गरृेँ ।
तपाईँलाई सुरुमा एमालेप्रति प्रभावित हुन केले भूमिका खेल्यो ?
मैले अघि पनि भने । म कक्षा १० मा अध्ययनरत छँदा नै कम्युनिष्ट प्रति प्भावित थिएँ । पछि मेरो पुरानो पार्टी राप्रपाका अध्यक्ष कमल थापा केपी ओली प्रधानमन्त्री भएको बेला उपप्रधान तथा परराष्ट्रमन्त्री बन्नुभयो । उहाँले अध्यक्ष ओलीसँग काम गर्दा सजिलो भएको भनी पटक–पटक भन्नुभयो । त्यति मात्र होइन कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रवादी नेता लाग्यो । सिकासप्रेमि नेता लाग्यो भनी पटक–पटक भनेपछि म उहाँसँग झन प्रभावित भए । मलाई कमल थापा गलत बोल्दैनन् भन्ने छ । कमल थापाले नै ओलीको प्रशंसा गरेपछि झन् प्रभावित भए । ओली मधेसप्रेमी नेता हुनुहुन्छ भन्ने कुरा मैल अझ धेरै बुझ्ने मौका पाएँ । धेरैले उहाँलाई मधेस विरोधी नेता भन्थे । त्यो सबै गलत रहेछ भन्ने मैले थाहा पाए । उहाँलाई विरोधका लागि मात्र केहीले त्यस्तो आरोप लगाएको मैले उहाँसँगको भेटबाट पनि थाहा पाएँ । उहाँ आफै पनि मधेसवादी दललाई वाइपास गरेर जाने स्थितिमा हुनुहुन्न । त्यही भएर म एमालेसँग अझ बढी सन्तुष्ट भएँ ।
मधेसवादी दलको भविष्य कस्तो देख्नु भएको छ ?
मधेस हरेक कुराको सविधा हुँदा पनि विकासमा पछि परेको छ । मधेसको विकास हुन सकेन ? मधेस किन सधैँ पिछडिरहयो ? यो सबै कुराको लेखाजोखा हुनुपर्छ भन्ने मेरो बुझाई छ । यो सबैको दोषी हामी नै हौँ । पञ्चायदेखि सयौँ नेतालाई त्यहाँका जनताले सांसद्–मन्त्री, राष्ट्रपति, उपराष्ट्रपति बनाए । तर, कसैले पनि मधेसका जनताको पक्षमा मधेसको पक्षमा काम गर्न सकेनन् । हामी आफैँ पनि मधेस र मधेसी जनताका समस्या छाडेर आफ्नो स्वार्थमा लाग्यौँ कि भन्ने लागेको छ । अहिलेसम्म मधेसका जनताका पक्षमा काम गर्न सकिन भनेर कुनै पनि मन्त्री वा सांसद्ले राजिनामा दिएको मलाई थाहा छैन । त्यसैले मैले मधेसको जनताको हितमा, राष्ट्रको हितमा काम गर्ने पार्टी एमाले छानेको हो । अब प्रदेश र संघीय निर्वाचनमा एमालेको पोजिशन कस्तो होला ? एमालेको बहुमत आउँछ । अझ वाम तालमेलको कुरा आएको छ । यसले झन् सफलता प्राप्त हुन्छ भन्ने मैले ठानेको छु । स्थानीय निर्वाचनले त्यही बताएको छ । प्रदेश नम्बर दुईमा पनि एमाले दोस्रो भएको छ । यसले प्रदेश नम्बर २ मा पनि एमालेको पोजिशन बलियो छ भन्ने प्रमाणित गरेको छ ।
कुनै पदको वार्गेनिङसहित एमाले प्रवेश गर्नुभएको हो ?
म पदको लोलुप्तता भएर एमाले प्रवेश गरेको होइन । मधेको जनताको पक्षमा काम गर्न गएको हो । एमालेले मुल्याङकन गर्छ र जिम्मेवारी दिन्छ भने नाईँ भन्दिन । देशको समग्र अवस्थालाई कसरी लिनु भएको छ ? म धेरै खुशी छु । हामीहरुकै पालामा संविधान जारी भयो र हाम्रै पालामा संविधान कार्यान्वयन हुँदैछ । यो भन्दा खुशीको कुरा के हुन्छ ? समयमै स्थानीय निर्वाचन सम्पन्न भयो । प्रदेश र केन्द्रको निर्वाचन पनि अब छिट्टै सम्पन्न हुँदैछ । यो ठूलो कुरा हो । कुनै पनि मारपिट विना चुनाव भयो । यो नेपाल र नेपाली जनताका लागि पनि खुशीको कुरा हो ।