अबको प्रधानमन्त्री केपी ओली नै हो : शंकर पोखरेल, नेता, नेकपा एमाले
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया अड्किरहेका बेला दुई वामका अध्यक्षबीचको भेटपछि धेरै आशंकहरु टरेका छ् । यस्तो अवस्थामा नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले दुई पार्टीबीचको एकताबारे कुनै शंक नगर्न आग्रह गर्नुभएको छ ।
एमाले नेता पोखरेलले चुनावी तालमेल पूर्व नै पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेकाले एकतामा शंका गर्ने ठाउँ नै रहेको बताउनुभयो
उहाँले पार्टी एकताप्रति एमाले र माओवादी दुवै पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । ‘प्रक्रिया अगाडि बढाउने काम भइरहेको छ । निश्चित समय र प्रक्रियाको माग गर्छ भन्ने बुझ्न जरुरी छ’, पोखरेलले भन्नुभयो, ‘यो काम निश्चित समयमा अगाडि बढ्छ ।’ उनले प्रक्रियामा चासो नराख्ने र परिणामको अपेक्षा गर्ने प्रवृति सञ्चारमाध्यममा प्रकट भएकोले अन्योलता बढेको स्पष्टिकरण दिनुभयो ।
एमालेको रणनीतिकारका रुपमा परिचित नेता पोखरेलले पार्टी एकतामा सैद्धान्तिक सहमतिपछि सरकार गठन हुने बताउनुभयो । पोखरेलले पार्टी एकताले पूर्णता पाउन कम्तिमा दुई वर्ष लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई पार्टी एक हुने कुरा हो, यसको लागि एउटा लामो कोर्ष हुन्छ’, पोखरेलले भन्नुभयो, ‘एकल नेतृत्वको लागि अधिवेसन पर्खनु पर्छ , पूर्णरुपमा पार्टी एकता हुन त डेढऔदुई वर्ष लाग्छ ।’
उहाँले आलोपालोको विषय एकतापूर्वको अवधारणा मात्र भएको बताउनुभयो । ‘आलोपालोको विषय एकता नहुँदासम्मको विषय हो । एकतापछि कार्यविभाजन प्रमुख विषय हुन्छ, ’उहाँले भन्नुभयो, ‘चुनावी तालमेलको समयमा दुई पार्टीबीच छलफलमा प्रयोग गरिएको भाषालाई चर्चामा ल्याउन खोजिएको छ । एकतापछि त आलोपालोको कुरा हुँदैन । एउटै नीति कार्यक्रम हुन्छ, एउटै नेतृत्व हुन्छ ।’
एमाले नेता पोखरेलले अबको पाँच बर्षको लागि प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताउनुभयो । उहाँले चुनावको परिणामले नै प्रधानमन्त्रीमा ओलीलाई अनुमोदन गरिसकेको बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै ओली प्रधानमन्त्री हुने कुरा स्वीकार गरिसकेको पोखरेलले जिकिर गर्नुभयो । ‘प्रधानमन्त्रीको विषयमा कुनै समस्या नै छैन, अब प्रधानमन्त्री केपी ओली नै हो’, उहाँले थप्नुभयो ।