एमाले र माओवादीबीच पार्टी एकता गरेरै छाड्छौ— ईश्वर पोखरेल,महासचिव, नेकपा एमाले

 


नेकपा (एमाले) महासचिव ईश्वर पोखरेलले आलोपालो प्रधानमन्त्रीको कुरा हल्ला मात्र भएको बताउनुभएको छ । उहाँले मैत्रीन्युज डटकमसँग कुराकानी गर्दै दुई वटा पार्टी रहेका र मोर्चागत संरचना रहेका बेलामा आलोपालो संगतीपूर्ण शब्द भए पनि पार्टी एक भएपछि यो कुरा वेकारको तर्क भएको दाबी गर्नुभयो । उहाँले आवश्यक ठानेर नै एमाले र माओवादीबीच एकताको प्रक्रिया अघि बढाएको भन्दै कसैलाई देखाई दिऔँ न त भनेर एकताको कुरा गरेको नभएकाले त्यो पूरा गर्छौ गरेरै छाड्ने पनि दाबी गर्नुभयो । पोखरेलसँग मोहन बास्तोलाले गरेको कुराकानी :

एमाले र माओवादीबीचको एकता निश्चित भएको हो ?

हामीले आवश्यक ठानेर नै एमाले र माओवादीबीच एकताको प्रक्रिया अघि बढाएको हो । हामीले कसैलाई देखाई दिऔँ न त भनेर एकताको कुरा गरेको होइन त्यसैले हामी यो पूरा गर्छौ गरेरै छाड्छौँ । यहाँ अहिले केही नियत वाङ्गिएकाहरुले एकता नहोस भन्ने चाहेका छन् । तर, त्यो पुरा हुँदैन । उनीहरुले भनेर वा चलखेलगरेर एकताको प्रक्रिया रोकिन्न । यो अघि बढ्यो, बढ्यो । एकता प्रक्रियाका लागि केही प्राविधिक कुरा पनि छन् । हामी अहिले ती प्राविधिक कुरा मिलाउँदै छौँ । त्यसैले केही समय लाग्छ । तर, एकता रोकिन्न ।

नेताहरुको पद व्यवस्थापनले केही ढिलाई भएको भन्ने पनि छ नि ?

पार्टी एकता कै कुरा गरिरहेका बेला पद व्यवस्थापन भन्ने कुरा सामान्य हो । हामी अहिले एकतासहितको नयाँ पार्टी बनाउँदै छौँ । यस्तो बेलामा संगठनको ढाँचा नै पुर्नगठन हुनसक्छ । मैले अघि पनि भने, हामी यति ठूलो अभियानमा लागेका बेला एउटा पद वा व्यक्तिको कुरा सामान्य हो । यो मिशन पूरा गर्ने सन्दर्भमा मेरो बाहेक अरुको व्यवस्थापन भन्ने कुरा हुँदैन । पार्टीको सामान्य सदस्य भएर पनि बस्ने आँट गर्नुपर्छ । त्यसमा खुशी हुनुपर्छ । मेरो सन्दर्भमै कुरा गर्नु हुन्छ भने पनि पार्टी एकता गरेर अघि बढ्ने सन्दर्भमा साधारण सदस्य समेत भएर बस्न तयार छु । सबैले यसमा तयार हुनुपर्छ ।
चुनावको परिणामले पनि अहिले वामपन्थीहरु एक हुनुपर्छ भन्ने म्याण्डेट दिएको छ । वामपन्थीहरु एक भ एभने राजनीतिक स्थीरता देख्न पाइन्छ भन्ने जनताको चाहना छ ।

भनेपछि अब वामपन्थीको सरकार बन्यो भने स्थीर हुन्छ होइन त ?

हामी लामो समयदेखि राजनीतिक अस्थिरताको शिकार भयौँ । नौ–नौँ महिनामा सरकार फेरवदल हुने, एक वर्ष पनि जनताले सरकारको मुख देख्न नपाउने यो दूर्भाग्यपूर्ण चक्र निरन्तर चलिरह्यो । यसबाट सबै पक्ष आक्रान्त भएका छन् । अर्थतन्त्र धरासायी भएको छ, सामाजिक सम्बन्धहरु धरासायी भएका छन् । राजनीतिक अस्थिरता चुलिदैँ गएको छ । विदेशी शक्तिको चासो बढेको छ । हाम्रो देशको स्वाभाविक विकास र प्रगतिमा निकै ठूलो समस्या सिर्जना भएको छ । यो कुरा जनताले बुझेका छन् । राजनीतिक स्थीरताका लागि बहुमतको सरकार बनाउनुपर्छ भन्ने जनताको चासो हो । स्थीर सरकार भयो भने आर्थिक विकास र समृद्धिको सपना पूरा हुन्छ । यो पूरा गर्न अब बन्ने बामपन्थी सरकार राजनीति आर्थिक विकास र समृद्धिको एजेण्डामा केन्द्रित हुनुपर्छ ।

वामपन्थी नेतृत्वमा त पहिला पनि सरकार बनेको थियो नि होइन ?

वामपन्थी नेतृत्वको सरकार बनेपनि अहिलेसम्म बहुमतप्राप्त र स्थायी सरकार बनेको छैन । तर, कांग्रेसले २०१७ सालमा बहुमत ल्यायो । राजनीतिक स्थीरता दिन सकेन । ०४६ सालमा बहुदलीय व्यवस्था प्राप्त भयो । बहुदलीय व्यवस्थामा पनि नेपाली कांग्रेसले बहुमत ल्यायो । त्यतिबेला पनि नेपालमा राजनीतिक स्थीरता कायम हुन सकेन । बरु संसदीय अभ्यासमा फोहोरी खेलहरु सुरु भए । ती क्षणहरु अहिले नेपाली जनता सम्झन पनि चाहँदैनन् ।
०५६ को निर्वाचनमा पनि नेपाली कांग्रेसले बहुमत ल्यायो । त्यतिबेला अहिलेकै प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले प्राप्त प्रजातन्त्रलाई दरवारमा लगेर बुझाउनुभयो । जनताले यी सबै देखिरहेका छन् । यो सबै मैले किन भनिरहेको छु भने नेपाली कांग्रेससँग यस पटक हामीलाई बहुमत दिनुहोस हामी मुलुकमा राजनीतिक स्थीरता कायम गर्छौ, हामी आर्थिक समृद्धि ल्याउँछौँ भन्ने राजनीतिक र नैतिक आधार नै थिएन । हजारौँ, लाखौँ युवाले रोजगारी पाउने ३८ वटा उद्योगहरु नेपाली कांग्रेसका पालामा उदारीकरण र नीजिकरणका नाममा कांग्रेसका अर्थशास्त्रीहरुले कौडीको मूल्यमा विक्रि गरे । यो सबै कुरा जनताले देखेका छन् । त्यसका लागि पनि जनताले राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि बहुमतको सरकार वामगठबन्धनबाट खोजेका हुन् । हामीले त्यो राम्ररी बुझेका छौँ । अब हामी जनताको भावना अनुरुप नै काम गर्ने छौँ । आम जनताको चाहना पूरा गर्न दुई वटा पार्टी मिल्नुको विकल्प छैन । राष्ट्र र जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्छ भनेर नै हामी मिशन केन्द्रित भएर तालमेलका लागि अघि बढेका हौँ । निर्वाचनका बेला हामीले ६०–४० को तालमेल गर्न सफल भयौँ । त्यो चानचुने कुरा थिएन । एमाले र माओवादीमा कतिपय पाउनु पर्ने साथीहरुले पनि टिकट पाउनु भएन तर कसैले पनि चित्त दुखाउनु भएन । यो दुबै कम्युनिष्ट एक होस भन्ने असल उदेश्यले नै भएको हो । त्यति मात्र होइन हामीले भविष्यका योजना र सपनासहितको साझा चुनावी घोषणापत्र ल्यायौँ । त्यो पनि हामी एक छौँ भन्ने सन्देश हो । तेस्रो कुरा, पार्टी एकता संयोजनका लागि हामीले पार्टी एकता संयोजन समिति नै बनाएका छौँ । म त्यसको सदस्य पनि हुँ । अहिले हामी घनीभूत छलफलमा छौँ । हामी छिट्टै निष्कर्षमा पुग्छौँ । विचारलाई पुर्नव्यवस्थित गर्ने कुरा, नेतृत्व पुर्नव्यवस्थापन गर्ने कुरा पनि हामी छिट्टै गर्छौ ।

तपाईँले केपी ओली प्रधानमन्त्री, संसदीय दलको नेता र पार्टी अध्यक्ष भन्नुभएको छ, समस्या होला नि ?

त्यस्तो होइन, कम्युनिष्ट आन्दोलमा दुई वटा अभ्यास छन्, मल्टी सेन्टर र युनि सेन्टर । हामीले दुबै अभ्यास गरेका छौँ । हामी यी दुई अभ्यासका बारेमा पछि छलफल गरिरहेका छौँ । मलाई अहिले सोध्नुहुन्छ भने कम्युनिष्ट पार्टी भित्र मल्टी सेन्टर गलत कुरा हो । त्यसकारण जो व्यक्ति पार्टीको अध्यक्ष हुन्छ । संसदीय दलको नेता पनि त्यही हुन्छ । संसदीय दलको नेता नै प्रधानमन्त्री हुन्छ । पार्टीको मुल बिचार बोक्न नेता अध्यक्ष हुने हो । त्यही व्यक्ति संसदीय दलको नेता र प्रधानमन्त्री हुने हो । यो ‘म्याचिङ’ छ । यो भागवण्डा गर्ने जस्तो कुरो पनि होइन । यो मेरो तर्क हो ।

आलोपालो प्रधानमन्त्रीको चर्चा के–हो ?

दुई वटा पार्टी रहेको र मोर्चागत संरचना रहेको बेलामा आलोपालो संगतीपूर्ण शब्द हुन्थ्यो होला । हामी अहिले एउटा पार्टी बनाउने कुरा गरिरहेका छौँ । यस्तो बेलामा आलोपालो भन्ने कुरा हुँदैन ।

किन चर्चा भयो त ?

यो या त वामगठबन्धनलाई गठबन्धनमै राख्ने पार्टी एकता नगराउने नियत भएका अर्थात नियत वाङ्गिएका व्यक्तिले बोलिरहेका छन् कि त केही नबुझि बोलिदिऔँ न त भन्नेहरु अर्थात अबुझहरुले यसो भनिरहेका छन् । हामी पार्टी एकताको जुन उदेश्यमा अघि बढिरहेका छौँ त्यो उदेश्यमा यो शब्द तालमेल हुने खालको नै होइन ।