नेपालमण्डल प्रदेश सवैभन्दा उपयुक्त र उत्कृष्ट नाम हो —डा. अजयक्रान्ति शाक्य,सांसद्, प्रदेश नम्बर ३

maitrinews


प्रदेश नम्बर ३ का सांसद् डा. अजयक्रान्ति शाक्यले प्रदेश नम्बर ३ को नाम नेपालमण्डल प्रदेश सवैभन्दा उपयुक्त र उत्कृष्ट नाम भएको दाबी गर्नुभएको छ । उहाँले भौगोलिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक सबै हिसावले त्यही नाम ठीक भएको दाबी गर्नुभएको छ । उहाँले ईस्वीको तेस्रो शताब्दीतिरको मानिने आय महामञ्जुश्री मूलकल्प भन्ने बौद्ध ग्रन्थको श्लोक नं.५०२÷५०३मा ‘नेपालमण्डल’ भन्ने शब्द उल्लेख भएको भन्दै त्यसकारण पनि ‘नेपालमण्डल’ लिच्छवी राजामानदेव अघि देखिनै उल्लेख भएको तथ्य इतिहास प्रमाणका आधारमा बुझ्न सकिने दाबी गर्नुभयो । डाक्टर शाक्यसँग मैत्रिन्युज डटकमले नेपालमण्डल प्रदेश सवैभन्दा उपयुक्त र उत्कृष्ट नाम किन ? यही विषयमा खोतल्ने प्रयास गरेको छ । डाक्टर शाक्यसँग गरको कुराकानी : 

तपाईँले प्रदेश नं.३ को नाम नेपालमण्डल प्रदेश राख्न प्रस्ताव गर्नुभएको छ । यसको खास कारण के–हो ?

मैले लौ यो प्रदेशको नाम नेपालमण्डल राखौँ न त भनेर रहर गरेर राख्न खोजेको होइन । यसको ऐतिहासिक, भौगोलिक, सामाजिक सबै कारण खोजेर, अध्ययन गरेर नै मैले यो सार्वजनिक गरेको हुँ । यसका केही ऐतिहासिक कारणहरु छन् । स्वयम्भु पुराणको आधारमा राजाधर्माकरले नियमपुर्वक पालेको (राज्य चलाएको) हुनाले त्यो देशको नाम ‘नेपालमण्डल’ रहन गएको हो भन्ने धारणा छ । नेपालमण्डल शब्दको ऐतिहासिकता अध्ययन गर्दा इश्वीको करीब तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ । इश्वीको तेस्रो शताब्दीतिरको मानिने आय महामञ्जुश्री मूलकल्प भन्ने बौद्ध ग्रन्थको श्लोक नं.५०२÷५०३मा ‘नेपालमण्डल’ भन्ने शब्द उल्लेख भएको छ । यसर्थ ‘नेपालमण्डल’ लिच्छवी

राजामानदेव अघि देखिनै उल्लेख भएको तथ्य इतिहास प्रमाणका आधारमा बुझ्न सकिन्छ ।
नेपालमण्डल नै राख्नु पर्ने अन्य कारण पनि छ ?

निश्चय पनि, नेपालमण्डल शब्द सर्वप्रथम काठमाडौं ज्ञानेश्वरस्थित लिच्छवि राजा जयदेवको इश्वीको आठौं शताब्दीको अभिलेखमा उल्लेख भएको पाइन्छ । पछि ‘नेपालमण्डल’ नाम नेपालका प्राचीन अभिलेखहरुमा आठौं शताब्दीदेखि निरन्तर प्रयोग हुँदै आएको पाइन्छ । लिच्छवि कालको अभिलेखमा उल्लेख भएअनुसार नेपालमण्डलको फैलावट पूर्वमा कुशेश्वर (सुनकोशी, सिन्धुली), पश्चिममा केवलपुर (धादिङ), उत्तरमा रसुवापारि केरुङ (हालप्राप्त) र दक्षिणमा तिस्तुङ (मकवानपुर) सम्मथियो । तसर्थ वर्तमान ३ नं प्रदेश ऐतिहासिक हिसाबले नेपालमण्डल हो ।
पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरी अरु राज्यहरु यसमा गाभिंदा नेपालमण्डललाई एक अलग्गै प्रदेश मानेका छन् । उनले र उनका सन्तानले देशको नाम ‘गोरखा’मानेका छन् र राणाकालसम्म सो नामले औपचारिकता पाइरह्यो । पृथ्वीनारायण शाहको पालामा उनको विस्तारित नेपाल अधिराज्यमा ३ वटा प्रदेश थिए (चौविसी राज्यका कतिपय भाग, नेपालमण्डल,पूर्व र दक्षिणको सेनराज्य (किराँत) ।

यसको भौगोलिक कारण पनि छ भन्ने तपाईको तर्क गर्दै आउनुभएको छ । भौगोलिक कारण चाहिँ के–होला ?

नेपालमण्डलको उचाइ भूगोल अनुसार हिमाली क्षेत्र (लाङ्टाङ, जुगल, गणेश हिमाल, गौरीशङ्कर आदि), पहाडी क्षेत्र (महाभारत पर्वतश्रृंखला), र भित्रीमधेश (चुरेपर्वत श्रृंखला) सम्मिलित भई विविध वातावरणीय सम्पदायुक्त छ ।
सोहौं शताब्दीतिर लेखिएको ‘नेपालमहात्मय’को अध्याय १५ श्लोक ३–५मा उल्लेख भएअनुसार ‘नेपालमण्डल’को सिमाना पूर्वमा कौशकी(तामाकोशी, रामेछाप), पश्चिममा त्रिशूलगङ्गा( त्रिशूली, धादिङ्ग र नुवाकोट), उत्तरमा शिवलुति(गोसाईकुण्ड क्षेत्र, रसुवा) र दक्षिणमा शीतलोदका नदी(चिसापानी, इन्द्रसरोवर, मकवानपुर) सम्म रहेको पाइन्छ । मल्लकालसम्म आउँदा नेपालमण्डल भन्नाले पाँच वटा राज्य भएको एउटा देश भन्ने बुझिन्छ । ती पाँचवटा राज्यहरु क्रमशः काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा र दोलखा हुन् । यी पाँचवटा राज्यभित्र अहिलेको प्रदेश नं. ३ को १३ वटा जिल्ला मध्ये १२ वटा जिल्ला पर्दछ । ती १२ वटा जिल्लाहरु काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुली, रसुवा, नुवाकोट, धादिङ्ग, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, मकवानपुर हुन् र बाँकी चितवन जिल्ला पनि यक्ष मल्लको पालादेखि नेपालमण्डल भित्रै पर्दथ्यो ।
यसरी भूगोलको आधारमा हेर्दा नेपालमण्डल भनेको काठमाडौं उपत्यका मात्र होइन प्रदेश नं. ३ को सम्पूर्ण भूगोल नै पर्दछ । त्यसैले पनि भूगोलको आधारमा नेपालमण्डल नाममा सवैको अपनत्व आभास हुने रहेछ ।

तपाईँ त नेवार समूदायको व्यक्ति । अहिले नेवा राज्यको माग पनि भैरहेको छ । तपाईले नेपालमण्डलको प्रस्ताव ल्याउँदा यही समूदाय पनि रिसाउला नि ?

वास्तवमा नेपालमण्डल भनेको नै प्रदेश नं. ३ रहेछ । त्यसैले म काठमाडौं उपत्यकामा बसोवास गर्ने नेवार समुदायलाई के अनुरोध गर्न चाहन्छु भने कृपया ‘नेपालमण्डल’ नाम उपत्यकाबासीको मात्र हो भनेर नभनौँ । नेपालमण्डल प्रदेश नं. ३ मा रहेका सम्पूर्ण जनताको हो । सवै १३ वटै जिल्लाबासीको आफ्नै हो । सवैले अपनत्व पाउनसक्ने नामनै ‘नेपालमण्डल’ हो ।
अहिले पहिचानका आधारमा प्रदेशको नाम राख्न होडवाजी चलिरहेको छ । यस्तो बेलामा तपाईँको प्रस्ताव सबैका लागि मान्य होला त ?
नेपालमण्डल नामले वहुपहिचान स्थल भन्ने पनि बुझाउँछ । यहाँ रहेका मानिसहरुको सभ्यता भनेको नै नेपालमण्डलको सभ्यताको रुपमा रहेको छ । नेपालको धेरैजसो धार्मिक–सांस्कृतिक पूजा–आजा गर्दा ‘नेपालमण्डल’को उच्चाहरण गर्ने गरिन्छ । नेपालमण्डलमा कुनै पनि व्यक्तिको चिना लेख्दा…… आर्यावत्र्त हिमवतखण्ड्य नेपालमण्डल देशीय …..भनेर लेख्ने गरेको पाइन्छ । ‘नेपालमण्डल’शब्द सामाजिक, सांस्कृतिक क्रियाकलापमा उल्लेख गरेको पाइएकोले नेपालमण्डल शब्दले यहाँको जनताको सामाजिक सांस्कृतिक पहिचान बोकेको स्पष्ट हुन्छ ।
बज्राचार्यहरुले नेपालमण्डल भित्र तीन चक्र(चित्तचक्र, वाकचक्र र कायचक्र) भित्रको २४ पीठ रहेको विश्वास गरी वज्राचार्यत्व प्राप्तिका लागि एक बर्षसम्म पीठसेवा जाने परम्परा अद्यापि कायमै छ । ती ३ वटा चक्रहरु जुन संगठित रूपमा हेर्ने हो भने एउटा वृहत ‘मण्डल’को स्वरूप तयार भएको देख्न सकिन्छ । इन्द्रचोकको आकाश भैरव अगाडि रहेको कान्तेश्वरलाई मध्ये भागमानी नेपालमण्डललाई तीन वटा चक्रसहितको मण्डलआकारमा नेपालमण्डलको भूगोल बनाएको पाइन्छ । र ती २४ पीठहरु मध्ये अन्तिम आठवटा पीठहरुले नेपालमण्डलको चार सिमानालाई किटान गरेको देखिन्छ ।

धार्मिक हिसाबले पनि नेपालमण्डल नै ठिक भन्ने तपाईको तर्क हो ?

हो, नेपालमण्डललाई धार्मिक हिसाबले शैवहरुले हिमवत्खण्डमा चतुष्ठी शिवलिगं स्नान यात्रागर्दा नेपालमण्डलको आठवटा जिल्ला परिक्रमा गर्दछन् । यस्तै शाक्तहरुले २७ ‘नेपालमण्डली पीठ’को चार आवरण(मण्डल)मा आवद्ध गरिएको छ । यसरी धार्मिक सांस्कृतिक रुपमा पनि नेपालमण्डलले यहाँ भित्र रहेको हिन्दू र बौद्ध धर्मावलम्बीहरुको पहिचान गाँंसिएको छ ।
नेपालमण्डल वर्तमान प्रदेश ३ मा बसोबास गर्ने परम्परागत जाति विशेषको आदि थलो हो । यहाँ चारैतिरबाट आई बसेर एक अर्को जाति द्रवित (mभतिभम) भएका एक बेग्लै नेवार समुदाय बन्यो । लिच्छविकालमा तिब्बतको चाङ(त्कबलन) प्रदेशबाट आई नेपालमण्डलको वरिपरि रहेकाहरु संज(क्बलव), र संजबाट अप्रभंशभई पछि नेवारी भाषामा सँय भन्ने गरियो रचाङ प्रदेशबाट आएकाहरु आफैले भने ताङ र पछि त्बलन÷तामाङ भन्ने गरियो । तामाङहरु झण्डै पन्ध्रसय वर्ष अघि देखिने पालमण्डलमा बसोबास गर्दै आइरहेका आदिवासी हुन् ।
नेपालमण्डलका नेवार र तामाङ वाहेक मल्ल कालमा नेपालमण्डल आई बसेका खसआर्य, ब्राम्हणहरु पनि यहाँका आदिवासी हुन् । यस्तै दोलखाको थामी, जिरेल, चुरे पहाड वरपर रहेका चेपाङ र काँठमा रहेका दनुवार पनि यहाँका आदिवासी हुन् । यस्तै शाह, राणालगायत पाँचसय बर्ष अघि देखि यहाँ बसोबास गर्दै आइरहेका मुसलमान समुदाय पनि यहाँका आदिवासी हुन् । वर्तमान समयसम्म आउँदा यहाँ सयौं बर्ष अघिदेखि बसोबास गर्दै आइरहेका विभिन्न जातजातिका मानिसहरु सवै यहाँका सम्मानित जनताहरु हुन् ।

अहिले वागमती, नारायणी जस्ता नदीका नामबाट पनि प्रदेशको नाम राख्ने कुरा आएका छन् नि ?

वागमती नदीको उद्गम स्थल वागद्वार शिवपुरी डाँडा हो भने यो नदी कुरुवा(नेपालभाषामा) दक्षिणकालीको पछाडिसम्म मात्र वागमती नदीका रुपमा रहेको छ । काठमाडौंमा वागमती मात्र होइन विष्णुमती नदी पनि छन् यस अलावा अन्य नाम गरेको विभिन्न प्रख्यात नदीहरु छन् । त्यसैले पनि वागमती नदीको नाममा प्रदेशको नाम राख्दा यसले सवैको अपनत्व महशुस गर्न सक्दैन । यो नामले अधिकांश जनताको भूगोल, इतिहास, पहिचान समेट्न सक्दैन ।
पञ्चायतकालीन १४ अञ्चलमध्ये एउटा अञ्चल वागमती हो । वगमती अञ्चलमा जम्मा आठ वटा जिल्ला मात्र पर्दछन् । यस बाहेक यहाँ रहेको अन्य जिल्लाहरु नारायणी अञ्चलमा पनि पर्दछन् ।तसर्थ नारायणी प्रदेश किन नराख्ने ? भनेर पनिप्रश्न उठ्न सक्छ । त्यसैले सवै प्रदेशहरु नै अञ्चलको नाममा राख्ने कुरालाई विज्ञहरुले तथा त्यहाँका जनताले रुचाउँछ जस्तो लाग्दैन । नारायणी प्रदेशले मकवानपुर, चितवन जिल्लाहरु मात्र समेट्दछ अरु जिल्लाहरु अरु नै प्रदेशमा पर्दछन् त्यसैले पनि यो नाम सवैको स्वीकार्य नाम हुन सक्दैन ।
नेपालमण्डल भनेको एउटा सभ्यता हो । यसले व्यापक अर्थमा अधिकांश विषयको प्रतिनिधित्व गर्दछ । त्यसैले पनि वर्तमान प्रदेश ३ को नाम व्यापक अर्थबोध गर्ने ‘नेपालमण्डलप्रदेश’नाम छँदाछँदै बागमती प्रदेश तथा अन्य अञ्चलको नाम राख्नु खासै उपयुक्त हुँदैन ।

जाति विषेशको नामबाट पनि प्रदेश राख्ने कुरा आएको छ नि ?

प्रदेश नं. ३ को नामहरु नेवा–ताम्सालिङ प्रदेश, देवपत्तन प्रदेश, मञ्जुश्री पत्तन प्रदेश, काष्ठमण्डप प्रदेश, नारायणी प्रदेश आदि जे राखे पनि ती नामहरुले ‘नेपालमण्डल प्रदेश’नामले जति ऐतिहासिकता, भूगोल पहिचान, जनसंख्याको प्रतिनिधित्व गर्न सक्दैन । नेपालमण्डल प्रदेश सवैलाई चित्त बुझाउन सक्ने नाम बन्न सक्छ किनकी यो नाम मध्यममार्गी नाम हो । नेपालमण्डल प्रदेश नाम हुँदा यसले १३ जिल्लाको जनताले अपनत्वबोध गर्न सक्ने हुन्छ । उनीहरुको धार्मिक– सांस्कृतिक–सामाजिक पहिचानको सम्बोधन गर्दछ । सम्पूर्ण प्रदेशका जनताको भूगोलको प्रतिनिधित्व गर्दछ । पौराणिककालदेखि वर्तमान समयसम्मको ऐतिहासिक गरिमाको उजागर गर्दछ । तसर्थ पनि ३ नं. प्रदेशको नाम‘नेपालमण्डल प्रदेश’ सवैभन्दा उपयुक्त र उत्कृष्ट नाम हो ।