बीपी राजमार्ग र कान्तिलोकपथसहित मुख्य सडक सञ्जाल अवरुद्ध, राजधानी जोड्ने वैकल्पिक मार्गहरू ठप्प
काठमाडौँ, ३ साउन । पछिल्लो केही दिनदेखिको अविरल वर्षाका कारण सिर्जित बाढी र पहिरोले सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी र दक्षिणी नेपालसँग जोड्ने प्रमुख रणनीतिक सडकहरू अवरुद्ध भएका छन्। विशेष गरी बीपी राजमार्ग र कान्तिलोकपथमा आएको अवरोधले हजारौँ यात्रु र मालबाहक सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन्।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको रोशी खण्ड गम्भीर रूपमा प्रभावित भएको छ। काभ्रेको रोशी गाउँपालिका–७, ८ र ९ का विभिन्न स्थानमा माथिबाट पहिरो खस्ने क्रम जारी छ। रोशी खोलामा पानीको सतह ‘खतराको तह’ भन्दा माथि पुगेकाले सडक कटानको जोखिम बढेपछि सुरक्षा निकायले यस खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकेको छ। सम्भावित मानवीय क्षति न्यूनीकरण गर्न प्रहरीले काभ्रेतर्फबाट सिन्धुली जाने सवारी साधनहरूलाई सुरक्षित स्थानमा ‘होल्ड’ गरेको छ।
काठमाडौँलाई छोटो दुरीमा हेटौँडासँग जोड्ने कान्तिलोकपथ पनि अवरुद्ध भएको छ। ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाङदुर क्षेत्रमा खसेको ठुलो पहिरोका कारण चापागाउँ हुँदै हेटौँडा जाने मार्ग पूर्ण रूपमा बन्द भएको हो। सडक विभागले पहिरो पन्छाउने प्रयास गरे तापनि निरन्तरको वर्षाले अवरोध हटाउन कठिनाइ भइरहेको छ।
राजधानीलाई चीनको सिमानासँग जोड्ने अरनिको राजमार्गमा पनि प्राविधिक चुनौती थपिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पहिरो जानुका साथै वडा नं. ४ स्थित ‘जिरो किलो’ क्षेत्रमा सडकको जग नै भासिएकाले आवागमन प्रभावित भएको छ। सडक भासिएका कारण भारी सवारी साधन सञ्चालन गर्न जोखिम बढेको प्राविधिकहरूले जनाएका छन्।
मुलुकको ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्गमा भने केही सुधार देखिएको छ। धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा गएराति खसेको पहिरो सुरक्षा निकाय र सडक विभागको सक्रियतामा पन्छाइएपछि हाल दुईतर्फी यातायात सुचारु भएको छ। यस्तै, मुग्लिन–नारायणगढ र मुग्लिन–काठमाडौँ सडक खण्डमा कुनै ठुलो अवरोध नरहेको र यातायात सुचारु रहेको प्रहरीले पुष्टि गरेको छ।