नारायणगढ–मुग्लिन सडकमा तीनवटा गाडी ठाेक्किँदा २५ बढी यात्रु घाइते, खुलेको केहीबेरमै राजमार्ग पुनः ठप्प

चितवन, ३ साउन । सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएर आज बिहान ६:०० बजेदेखि मात्र सञ्चालनमा ल्याइएको नारायणगढ–मुग्लिन सडकखण्ड  सवारी दुर्घटनाका कारण पुनः अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरेमा दुईवटा बस र एक ट्रक आपसमा ठोक्किँदा ठुलो सङ्ख्यामा यात्रुहरू घाइते भएका छन् भने सवारी आवागमन पूर्ण रूपमा विच्छेद भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेका र विपरीत दिशाबाट आउँदै गरेका तीनवटा सवारी साधन एकापसमा जुधेका हुन्। दुर्घटनामा संलग्न सवारीहरू मा लु.प्र.०३–००१ ख ०५०५: काठमाडौँबाट दाङतर्फ जाँदै गरेको बस, म.प्र. ०३–००२ ख ७३२: सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको बस र बा.प्र.०३–००१ ख १६७१: बसलाई सोही दिशाबाट पछ्याइरहेको ट्रक रहेका छन् ।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा बसमा सवार २५ जनाभन्दा बढी यात्रुहरू घाइते भएका छन्। दुर्घटनास्थलमा मोबाइल नेटवर्कको समस्या रहेका कारण घाइतेहरूको विस्तृत विवरण र अवस्थाबारे आधिकारिक जानकारी सङ्कलन गर्न केही ढिलाइ भएको प्रहरीले जनाएको छ। यद्यपि, घटना लगत्तै इलाका प्रहरी कार्यालय मुग्लिन र जिल्लाबाट खटिएको टोलीले उद्धार कार्य जारी राखेको छ।

पहिरो र बाढीको जोखिमका कारण जिल्ला प्रशासन कार्यालय चितवनले गएराति १०:०० बजेदेखि बिहान ६:०० बजेसम्म यस सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाएको थियो। बिहान ६:०० बजे सडक खुलेसँगै गन्तव्यतर्फ लागेका सवारी साधनहरू दुर्घटनामा परेपछि हजारौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुर्घटनाग्रस्त सवारी साधनहरूले सडक पूरै छेकेकाले ती साधनहरूलाई क्रेनको सहायताले हटाउने प्रयास भइरहेको छ।