नाटयकर्मीलाई हौसला दिदै मण्डला थियटरमा प्रधानमन्त्री

maitrinews

 

काठमाडौ । काठमाडौको अनामनगर स्थित मण्डला थियट्रमा सोमबार बेग्लै रौनक थियो । प्राय नाटक मञ्चन भइरहने थियटर भित्रको अध्यारो कोठा बन्द थियो । तर छेउमा रहेको खाली जमिनमा स्टेज बनाई सवैलाई सहजताका लागि ढोका खुला गरिएकोे थियो ।

सिंहदरबारको अगाडी पट्टिको गल्लीबाट थियट्रमा प्रवेश गर्नासाथ विभिन्न देशका कलाकारहरुको कलालाई जीवन्त देखाउने खालका पोष्टरहरुले सजिसजाउ थियो । कितावका पानामा सजिएका पात्रलाई चरित्रमा उतार्न खप्पिस कलाकारहरुको बाक्लो भिड थियो ।

रंगकर्मीका १२ जना धरोहरलाई एकै थलोमा भेला गरिएको थियो । साँझ ढल्किदै थियो । बेलुकीको पाँचबजे देशविदेशबाट भेला भएका नाट्यकर्मीलाई हौषला दिन प्रधानमन्त्री केपीशर्मा ओली थियट्रमा प्रवेश गर्नुभयो ।

रंगकर्मी कलाकारले खचाखच भरिएको कार्यक्रम स्थलमा प्रधानमन्त्री केपीशर्मा ओली निक्कै जोशिलो देखिनुहुन्थ्यो । अझ पुराना कलाकार वरिष्ठ सस्कृतिविद सत्यमोहन जोशी, नाट्यकर्मी प्रचण्ड मल्ल, सकुन्तला शर्मा गुरुङ्ग, डा।अभि सुवेदी, अशेष मल्ल, शुभद्रा अधिकारी ,सुनिल मिश्र ,सुर्यमाला, शर्मा लगायत विदेशी कलाकारलाई सम्मान गर्न पाउँदा आफुलाई गर्व लागेको उहाँले बताउनुभयो ।

नेपाल नाटय महोत्सव २०७५ को उद्घाटन गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले कलाकारहरुलाई हौसला दिदै भन्नुभयो,–‘अहिलेको सरकार कलाकारको सम्मान गर्ने सरकार हो ।’ उहाँले अँग्रेजीमा उल्था गर्दे भन्नुभयो,‘प्राइमिनिस्टर इज आर्ट लभर ।’ सरकारले सधै कलाकारको सम्मान गर्छ र के कस्तो सहयोग गर्नुपर्ने हो, त्यसका लागि सरकार हातेमालो गरेर जान तयार छ ।

उहाँले नाटक टाइम पास गर्नेका लागि मात्र हेरिने माध्यम नभएर समाज परिर्वतनका लागि टच लाइटको रुपमा लिनुपर्ने बताउनुभयो । नाटकमा अभिनय गर्न कठिन भएको बताउदै प्रधानमन्त्रीले भन्नुभयो,–‘फिल्ममा चारपटक हल्लाएको हात चारपटक खिच्न मिल्छ तर नाटकमा त्यो सुविधा छैन,फिल्ममा खिचेर ल्याएको छाँगो, हिमाल जोड्न सकिन्छ तर नाटकमा यतिखेरै कहाँबाट ल्याउनु छाँगो, कहाँबाट ल्याउनु हिमाल ।’ प्रधानमन्त्रीले नाटक जीवन्त हुनुपर्ने, अगाडि नै उभिएर मान्छेलाई अर्को संसारमा लान सक्नु , विचार चिन्तन आकार दिने कुरा, थोरैबाट धेरै कुरा अभिव्यक्त गर्ने माध्यम भनेकै नाटक भएकाले यसको संगठित ढंगले अगाडी लैजानुपर्नेमा जोड दिनुभयो।

कला, संस्कृति र साहित्यको विकास नभई राष्ट्रको विकास नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल पार्न पनि हरेक क्षेत्र सफल हुनुपर्ने बताउनुभयो । उहाँले ठट्यौली शैलीमा भन्नुभयो समृद्धि हासिलका लागि पनि आफू नाट्यकर्मीको संगत खोज्दै कार्यक्रममा आइपुगेको हु। प्रधानमन्त्रीले यसो भनिरहदा कार्यक्रम सहभागि स्वदेशी तथा विदेशी कलाकारले तालीले स्वागत गरेका थिए । सहभागीहरुले भन्दै थिए कलाकारलाइ माया र सम्मानगर्ने प्रधानमन्त्री पाउनु गौरवको कुरा हो । सोमबार सुरू भएको नाट्य महोत्सवमा नेपालसहित ९ देशका नाटयकर्मी सहभागी छन्। चार नाटक घरमा तीस वटा नाटक प्रस्तुत गरिनेछ।