उदयपुरमा खोलाको दहमा डुबेर १४ वर्षीया किशोरीको मृत्यु

काठमाडौँ, असार ४ । उदयपुरको चौदण्डीगढी नगरपालिका ९ स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा एक किशोरीको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीया आयुसा सदा रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार दिउँसो खोलाको दहमा पौडी खेल्ने क्रममा उनी अचानक डुबेकी थिइन् । घटनालगत्तै उद्धारको प्रयास गरिए पनि उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई परीक्षण (पोस्टमार्टम) का लागि बुधबार राति नै उदयपुर जिल्ला अस्पताल, गाईघाट ल्याइएको छ । हाल शवलाई अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।