रुपन्देहीमा जेठमा हराएका १०८ मध्ये ६१ जना फेला : हराएका व्यक्तिको खोजी तीव्र
भैरहवा, ४ असार । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिएको छ। गएको जेठ महिनामा मात्रै हराएको भनी प्रहरीमा निवेदन परेका १०८ जनामध्ये ६१ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार जेठ महिनामा ३० जना बालबालिका, ४८ जना महिला र ३० जना पुरुष गरी कुल १०८ जना हराएको भनी प्रहरीमा उजुरी परेको थियो। प्रहरीको विशेष सक्रियतापछि तीमध्ये १८ जना बालबालिका, २९ जना महिला र १४ जना पुरुष गरी कुल ६१ जनालाई फेला पारी सकुशल परिवारसँग पुनर्मिलन गराइएको छ।
यसैगरी, अघिल्लो आर्थिक वर्षको पुस महिनादेखि खोजीको सूचीमा रहेका थप ९ जनालाई समेत यस अवधिमा प्रहरीले फेला पारेको छ। फेला पारिएकामा दुई जना बालिका, पाँच जना महिला र दुई जना पुरुष छन्। उनीहरूलाई पनि आवश्यक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको छ।
जिल्लामा बेपत्ता भएका नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी र चुस्त बनाउन थप जनशक्ति परिचालन गरिएको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो। बाँकी रहेका अन्य व्यक्तिहरूको खोजी कार्यसमेत निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।