इथियोपियाले एकैदिन ३५ करोड बढी रुख रोपेर कायम गर्यो नयाँ रेकर्ड

maitrinews

एजेन्सी । इथियोपियाले जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण देशलाई खडेरीको समस्याबाट जोगाउन एकैदिन ३५ करोड भन्दा धेरै रुख रोपेर नयाँ विश्व रेकर्ड कायम गरेको जनाएको छ । प्रधानमन्त्री एबी एह्मदको नेतृत्वमा सञ्चालन गरिएको सो कार्यक्रममा सरकारी कर्मचारीहरुलाई पनि सहभागी गराउन थुप्रै कार्यालयहरु समेत बन्द गरिएको थियो ।

संयुक्त राष्ट्र संघका अनुसार इथियोपियाको वन क्षेत्र २० औँ शताब्दीको सुरुवातमा ३५ प्रतिशतबाट घटेर ४ प्रतिशतमा पुगिसकेको छ । यस्तोमा प्रधानमन्त्री एह्मदले हरियाली अभियान अन्र्तगत देशभरका एक हजार स्थानमा रुख रोप्ने कार्यक्रम सञ्चलान गरिएको हो । यसमा अधिकारीहरुलाई रोपिएका बिरुवाको गन्ती गर्न पनि लगाइएको बीबीसीले जनाएको छ । यसबारेमा त्यहाँका प्रविधि मन्त्री गेटाहुन मेकुरियाले ट्वीट गर्दै १२ घण्टामा इथियोपियाले ३५ करोड भन्दा बढी रुख रोप्न सफल भएको जनाएका थिए । यसरी एह्मदको लक्ष्य कूल चार अर्ब रुख रोप्नु रहेको छ । यसका लागि राष्ट्रद्वारा सञ्चालित मिडियाहरुमा सबै जनतालाई सहभागी हुन प्रोत्साहन गर्दै रुखबिरुवाको ख्याल राख्न सन्देश दिइएको छ । यसमा संयुक्त राष्ट्रका कर्मचारीदेखि अफ्रिकन युनियन र विदेशी दूतवासका अधिकारीहरुले पनि भाग लिएका थिए ।

यसअघि एकैदिन सबैभन्दा बढी रुख रोप्नमा भारतको रेकर्ड रहेको थियो जसले २०१६ मा आठ लाख स्वयमसेवकहरुको मद्दतमा पाँच करोड रुख रोपेको थियो । हालैमा मात्र भारत सरकारले वातावरण संरक्षणका लागि अर्को अनौठो नीति अपनाएको छ । पञ्जाब सरकारले कुनैपनि व्यक्तिले बन्दुकका लागि निवेदन दिँदा कम्तीमा पनि १० वटा रुख अनिवार्य रुपमा रोप्नुपर्ने घोषणा गरेको थियो ।