नेपाललाई विश्वसामू चिनाउने भनेको जात्रा, पर्व, मठमन्दिर, सम्पदा र संस्कृतिले नै हो

Mohan Bastola

विद्या सुन्दर शाक्य, मेयर काठमाडौं महानगरपालिका

जीवित देवी देवताको पुजापाठ र रथयात्रा समेत हुने नेपालको मौलिक र अति विशिष्ट पर्व इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाको आमन्त्रणलाई स्विकार गरी नेपाल आउनु भएका विभिन्न विदेशी नगरका प्रमुखहरु तथा प्रतिनिधिमण्डलका विशिष्ट महानुभावहरुको सम्मानमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश भट्टराईज्यू, माननीयज्यूहरु, इन्द्रजात्राको अवसरमा नेपाल आउनु भएका विदेशी नगरका मेयर तथा विशिष्ट पाहुनाहरु, ललितपुर महानगरपालिकाका प्रमुख तथा उपप्रमुखज्यू, भक्तपुर तथा चन्द्रागिरी नगरपालिकाका प्रमुख तथा उपप्रमुखज्यूहरु, नेपाल भ्रमण वर्ष २०२० का संयोजकज्यू, पुरातत्व विभाग तथा गुठी संस्थानका पदाधिकारीज्यूहरु, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु, इन्द्रजात्रालाई अति भव्य र सभ्य रुपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान गर्ने विभिन्न गुठी, खलः, पुचः तथा स्थानीय क्लबका पदाधिकारीज्यूहरु, सुरक्षाकर्मीहरु, स्थानीय वासिन्दा र पत्रकारहरु, काठमाडौं महानगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सबै जनप्रतिनिधि, शहरी योजना आयोगका उपाध्यक्ष तथा सदस्य र कर्मचारी मित्रहरु ।
नेपाल विश्व मानचित्रमा पर्यटकका लागि गन्तव्य मुलुक हो ।

यहाँका प्राकृतिक दृश्यहरु र जिवन्त सांस्कृतिक रहस्यहरुले पर्यटकको मन सजिलै जित्ने गरेको छ । हाम्रा हिमाल, पहाड, तराई, मधेश, नदिनाला, तालतलैया, खोंच, भन्ज्याङ आदि प्रकृतिले दिएका अनुपम उपहारहरु हुन् । यी प्राकृतिक भूसंरचनाहरु हेर्ने, देख्ने, पुग्ने र बुझ्ने सबैको उत्कट चाहना हुन्छ । जसरी प्रकृतिबाट हामीलाई स्वर्गीय भूमी प्राप्त छ, त्यति नै उच्च हैसियतमा हाम्रा संस्कार, संस्कृति, सम्पदा र सामाजिक सहिष्णुता जिवन्त छन् । नेपाल र नेपालीलाई विश्वमाझ चिनाउने अनगिन्ती जात्रा, पर्व, चाड, मठमन्दिर, सम्पदा र संस्कृतिहरु नै मुख्य हुन् । नेपालको हरेक स्थान विशेषको आफ्नै मौलिक संस्कृति छ । टोल टोलमा देवी देवताको वास छ, मठमन्दिरहरु छन्, चैत्य, बहाःबहीहरु छन्, हरेक वस्ती वस्तीको आफ्नै मौलिक वास्तुकला छ, संस्कृति छ, अनि विशिष्ट खालको जिवन पद्धती छ । हाम्रो राष्ट्र नेपाल सुन्दर राष्ट्र तथा पर्यटकीय राष्ट्र वन्नुमा तीनै हाम्रा गहना समानका जिवन्त संस्कृतिहरुको मुख्य योगदान छ ।
स्वर्गका देवताहरुको पनि देवता मानिने इन्द्र राजाको काठमाडौं आगमनसंगै यहाँका जनजिवनसंग जोडिएका घटनाक्रमले इन्द्रजात्रा शुरु भएको र यस जात्रामा जीवित देवीदेवता श्री कुमारी, श्री गणेश र श्री भैरबको पुजाआजा, रथारोहण, विभिन्न नाचहरु, परम्परागत भेषभूषा, बाजागाजा, इन्द्रध्वज ठडाउने तथा ढाल्ने कार्यहरु आफैमा ऐतिहासिक, सांस्कृतिक र मौलिक छन् । हरेक वर्ष राष्ट्रप्रमुख, सरकार प्रमुख, विशिष्ट पदाधिकारी, विदेशी कुटनीतिक नियोगका पदाधिकारी, सर्वसाधारण नेपाली जनताको स्वस्फूर्त सहभागितामा इन्द्रजात्रा सम्पन्न हुने गर्दछ । हामी सबैले प्रत्यक्षदर्शी भै यस वर्षको इन्द्रजात्रा अवलोकन गरेका छौं ।

काठमाडौं महानगरपालिकाले यस्तो मौलिक र विशिष्ट पहिचान कायम गरेको सम्भवत विश्वकै लागि फरक अनुभूति हुने इन्द्रजात्रा अवलोकन गर्न विदेशी नगरका प्रमुुख तथा विशिष्ट पाहुनाहरुलाई आमन्त्रण गरिएकोमा हाम्रो आमन्त्रणलाई स्विकार गरी काठमाडौं आउनु भएका विशिष्ट पाहुनाहरुप्रति म धेरै आभारी छु । यहाँहरुको यो सांस्कृतिक अवलोकन भ्रमणले इन्द्रजात्राको गरिमा अझ बढेको छ भन्ने अपेक्षा गरेको छु । इन्द्रजात्रा जस्तो नेपालको मौलिक संस्कृति प्रवद्र्धनका लागि भर्खरै नेपाल सरकारले निर्णय गरी इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष स्थापना गरेको सुखद जानकारी पनि यसै कार्यक्रम मार्फत गराउन चाहन्छु । इन्द्रजात्रा अवलोकनको क्रममा काठमाडौंको पुराना बस्तीहरु, चन्द्रागिरी, स्वयम्भू, भक्तपुर र ललितपुर समेतको सम्पदा तथा संस्कृतिहरुको समेत अवलोकन सम्पन्न भएको छ । यसबाट पाहुनाहरु थप लाभान्वित भएको विश्वास लिएको छु । काठमाडौं बसाईको क्रममा कुनै असजिलो भएको भए म क्षमा चाहन्छु । काठमाडौं महानगरपालिका यहाँहरुको उपस्थितिले उत्साहित मात्र भएको छैन, आगामी दिनहरुमा हाम्रो सम्वन्ध अझ प्रगाढ र सुमधुर भई नगर–नगर सहकार्य मार्फत हाम्रा नगरहरु थप समृद्ध वन्दै जानेछन् भन्ने समेत विश्वास लिएको छु ।

अन्तमा, प्रमुख अतिथि माननीय मन्त्रीज्यूबाट इन्द्रजात्राको सफलता र दिगो व्यवस्थापनको लागि अक्षयकोष स्थापना गर्न तथा अन्य आवश्यक कार्यमा नेपाल सरकारको तर्फबाट भएको महत्वपूर्ण योगदानप्रति कृतज्ञ हुँदै सम्माननीय राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, प्रदेश सरकारका मुख्यमन्त्रीज्यू, माननीयज्यूहरु, विदेशी पाहुनाहरु, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका तथा चन्द्रागिरी नगरपालिकाका प्रमुख तथा उपप्रमुखज्यूहरु, पुरातत्व विभाग तथा गुठी संस्थानका पदाधिकारीज्यूहरु, जनप्रतिनिधिहरु लगायत सबै विशिष्ट अतिथिहरु र इन्द्रजात्रा व्यवस्थापनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा खट्नु भएका पदाधिकारीज्यूहरु, गुठी, खलः पुचः का पदाधिकारीज्यूहरु, पत्रकारज्यूहरु लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछु ।

(इन्द्रजात्रा – २०७६ मा आमन्त्रित विदेशी पाहुनाहरुको सम्मानमा आयोजित रात्रीभोज सहितको समापन कार्यक्रममा कामपा प्रमुख विद्या सुन्दर शाक्यबाट प्रस्तुत मन्तव्य)