डाक्टरको हत्यामा संलग्न चार जना प्रहरी इन्काउन्टरमा मारिए
हैदरावाद । दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरूको प्रहरी इन्काउन्टरूमा मृत्यु भएको छ।
उनीहरूलाई प्रहरीले बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो।
त्यसपछि उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो।
तेलङ्गाना प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा भिडन्तमा मृत्यु भएको हो।
घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ।
ती चारै जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर अनुसन्धान गर्न खोजेको हैदराबादका प्रहरी प्रमुख भीसी सज्जनारले बताएका छन्।
त्यहाँ उनीहरूले आफूमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीको दाबी छ।
इन्काउन्टर भएको भनिएको स्थानमा प्रहरी
प्रहरीको बन्दुक खोस्न र भाग्न खोजेकाले गोली हानिएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन्।
गत साता ती पशुचिकित्सकको बलात्कारपछि हत्या भएपछि भारतमा चर्को आक्रोश उत्पन्न भएको थियो।