कब्जा गरेर बसेका जमिन खोजेर पार्क बनाउने कामलाई तिव्रता दिएका छौँ

Mohan Bastola

विद्यासुन्दर शाक्य
मेयर, काठमाडौँ महानगरपालिका

लामो समयसम्म जनप्रतिनिधि विहीन बनेको महानगरपालिकामा जनप्रतिनिधि आएपछि अर्थात तपाईँले नेतृत्व लिएपछिको तेस्रो महानगर दिवस मननउनु भएको छ । यो बेलासम्म तपाईँले गरेका सकारात्मक कामका बारेमा पनि केही बताई दिनुहोस् न ?

मैले नेतृत्व सम्हालेपछि महानगरपालिकाले गरेका सकारात्मक कामको चर्चा म आफैँले गर्दा त्यति धेरै उपयुक्त नहुन पनि सक्छ । तर, मैले भन्नै भन्ने हुन्छ, मैले महानगरपालिकाको नेतृत्व सम्हाले पछि यहाँ धेरै काम भएका छन् । हामीले निर्वाचनमा घोषणा गरेका र घोषणा नगरेका काम पनि धेरै भैसकेका छन् । हामीले चुनावमा सिमित घोषणा गरेका थियौँ । पछि बढायौँ पनि । निर्वाचन सम्पन्न भएपछि अन्य पार्टीहरुले जनताका बीचमा जाँदा गरेको बाचालाई पनि हामीले हाम्रा एजेण्डा बनाइसकेका छौँ ।
अहिले हेर्ने हो भने महानगरको क्षेत्राधिकार भित्रका अधिकांश बाटा–घाटा बनिसकेका छन् । केही–केही ठाउँमा हामीले बनाएका बाटामा फेरि मेलम्चीको पाइप विछ्याउन खन्दा समस्या भएको छ । कतिपय ठाउँमा विद्यूत प्राधिकरणका कारणले पनि समस्या भएको छ । यो सबै एकिकृत विकासको अभावले देखिएको समस्या हो । अहिले पनि भन्छु– समग्रमा भन्ने हो भने धेरै काम म आएपछि सम्पन्न भएका छन् । अहिले पनि हेर्ने हो भने मेलम्चीले हात नहालेको ठाउँका अधिकांश सडक सफा र राम्रा नै देखिन्छन् ।
हामीले सम्पदा पुर्ननिर्माणको कामलाई पनि प्राथमिकताका साथ अघि बढाएका छौँ । त्यसैगरी हामीले मूर्त र अमूर्त सम्पदाको संरक्षणमा पनि त्यत्तिकै ध्यान दिएका छौँ । अहिले अमूर्त सम्पदाको कुरा गर्ने हो भने मैले अघि पनि भने सबै बाजा गुरुहरुलाई हामीले सम्मान गर्ने तयारी गरेका छौँ । हामीले अघिल्लो वर्ष पनि सम्मान गरेका थियौँ । हामीले बाजाको संरक्षणका लागि मात्रै होइन किन्न र मर्मतका लागि पनि सहयोग गर्दै आएका छौँ । उहाँहरुले हामीले महानगपालिकाबाट सहयोग पाएनौँ भन्ने अवस्था छैन । आर्थिक कारणले लोप भैसकेका बाजाहरु पनि महानगरपालिकाको सहयोगमा पुर्नजिवित भएका छन् । बाजा गुरुहरु पनि त्यो कार्यमा लागेका छन् । यसले उत्साह थपेको छ । यहाँ विभिन्न प्रकारका नाचहरु छन् । ती नाचहरुलाई पनि हामीले अघि बढाएका छौँ ।

मूर्त सम्पदाको कुरा गर्ने हो भने अहिले जत्तिको ऐतिहासिक रुपमा बहाः, बहिः, चैत्य, विहार, महाविहारको पुर्ननिर्माण कहिल्यै भएको थिएन । पूर्ननिर्माणका लागि यो स्वर्णकाल नै हो भन्दा पनि हुन्छ । निकै महत्वपूर्ण मानिएको वज्रशील महाविहार, दिगुक्षेँ, काष्ठमाण्डपलगायतका कामलाई महानगरपालिकाले तिव्ररुपमा अघि बढाएको छ । काष्ठमाण्डप महानगरपालिकाकै आर्थिक सहयोगमा पुर्ननिर्माण भैरहेको छ । रानीपोखरी पनि हाम्रो समन्वयमा पुर्ननिर्माण भैरहेको छ । बज्रयानी बिहार, माजु देवललगायतका थुप्रै सम्पदाहरु पनि अहिले पुर्ननिर्माण भै रहेका छन् । हिजो विभिन्न कारणले बन्न नसकेका सम्पदा पनि महानगरपालिकाको आर्थिक सहयोगमा पुर्ननिर्माण हुने भएपछि उहाँहरु पनि खुशी हुनुभएको छ । उहाँहरुले पनि हामीलाई उत्साह थप्नु भएको छ । यसरी हामी सम्पदा पुर्ननिर्माण र नवनिर्माणको काममा जुटेका छौँ । वातावरणको क्षेत्रको कुरा गर्ने हो भने पनि हिजो भन्दा आज झन सुधार भएको छ । म निर्वाचित हुनु भन्दा पहिला यहाँ खाल्टाखुल्टीले हिँड्ने ठाउँ नै थिएन । अहिले खाल्टाखुल्टी निकै कम भएका छन् । धुलोको कुरा गर्ने हो भने त्यसमा पनि सुधार हुँदै आएको छ । पहिला–पहिला आफू भन्दा दुई मिटर अघिको मान्छे वा गाडीको नम्बर पढ्न पनि मुस्किल पर्ने अवस्था थियो । मैले यो किन भनेको हो भने हामीले धुलो पूर्ण रुपमा नियन्त्रण गर्न त सकेका छैनौँ तर सुधारको अभियान जारी छ ।

धुलो नियन्त्रणकै लागि भनेर महानगपालिकाले ब्रुमर पनि त खरिद गरेको छ नि ?

हो, हामीले धुलो नियन्त्रणकै लागि भनेर पाँच ओटा ब्रुमर खरिद गरेका छौँ । मुख्य सडकको धुलो नियन्त्रणमा त्यसले निकै सहयोग गरेको छ । हामीले थप बूमरसहित धुलो नियन्त्रणको अभियानलाई जारी राखेका छौँ । हामीले थप दुई ओटा ब्रुमर ल्याउने भनेका छौँ । त्यसपछि हामी सहायक सडकको धुलो नियन्त्रणमा पनि हामी लाग्छौँ । विस्तारै महानगरले बोलेर होइन गरेर देखायो है भन्ने सन्देश गइरहेको छ । वातावरणकै क्षेत्रमा कुरा गर्ने हो भने हामीले धेरै ठाउँमा डस्टवीन वितरण गरेका छौँ । हरेक वडामा कम्तीमा दुई र कुनैमा दुई वा त्यो भन्दा बढी ठाउँमा कौशी खेतीको सुरुवात गर्न हामीले तालिम सञ्चालन गरेका छौ र सहयोग पनि गरेका छौँ । त्यसले अरु धेरै ठाउँमा कौशी खेतीका लागि उत्प्रेरणा हुने अपेक्षा गरेका छौँ ।

सामाजिक काममा पनि महानगरपालिकाले सहयोग गर्दै आएको छ नि ?

हो, हामीले खेलकुदको क्षेत्रमा सहयोग गरेका छौँ । हामीले गतसाल मात्रै फुटवलका ए, बी र सी डिविजनलाई आर्थिक सहयोग गरेका थियौँ । सबै भन्दा लोकप्रिय खेल फुटवल क्लवलाई काठमाडौँ महानगरपालिकाले सहयोग गर्यो भनेर धेरैतिरबाट चर्चा पनि भएको छ । समग्र महानगरपालिकाको सुरक्षाको दृष्टिलाई पनि ध्यानमा राखेर नेपाल प्रहरीसँग समन्वय गरेर पाँच करोड ८१ लाख बराबरको सीसी क्यामेरा जडान गर्ने अभियानलाई अघि बढाएका छौँ । यो खरिद प्रक्रियामै अघि बढेको छ । अहिले पनि विभिन्न ठाउँमा राखिएका सीसी क्यामेरा घटना घटेपछि दोषी पत्ता लगाउन प्रयोग हुँदै आएका छन् । हामी सीसी क्यामेरा राखेर घटना नै घट्न दिनुहुँदैन भन्ने अभियानका साथ अघि बढेका छौँ । हामी २४ सै घण्टा सीसी क्यामेराबाट गतिविधि नियाल्ने योजनाका साथ लागेका छौँ । त्यसले घटना घटेपछि अपराधी पत्ता लगाउन सहयोग गर्ने होइन कि अपराध नै हुन नदिने कुरालाई साथ दिने छ । हामीले ट्राफिक व्यवस्थापनमा पनि त्यसले भूमिका खेल्ने अपेक्षा गरेका छौँ ।

हामीले स्वास्थ्यका क्षेत्रमा पनि केही सकारात्मक कामको सुरुवात गरेका छौँ । केही हप्त अघि मात्र हामीले कान्तिवाल अस्पताललाई अक्सिज प्लाण्ट जडानका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छौँ । केही समय पछि हामी कान्तिवाल अस्पतालमै व्लड सपेरेशन प्लाण्ट जडान गर्ने सोच बनाएका छौँ । डाइलोसिस मिसिन पनि राख्ने भनेका छौँ । त्यसले बालबालिकाको उपचारका लागि सबै भन्दा महत्वपूर्ण मानिएको सो अस्पतालमा उपचार थप सहज हुने अपेक्षा गरेका छौँ । महिलाहरुलाई उद्यमी बनाउन हामीले विभिन्न सीपमुलक तालिममा पनि जोड दिएका छौँ । यसरी हेर्ने हो भने महानगरपालिकाले तुलनात्मकरुपमा धेरै काम गर्दै आएको छ ।

तपाईँको कार्यकालमा पार्क र पोखरी निर्माणका कामले पनि निकै गति लिएको छ भनिन्छ नि ?

हो, पहिला–पहिला विभिन्न नाममा व्यक्तिले कब्जा गरेर बसेका जमिन खोजेर हामीले पार्क बनाउने कामलाई तिव्रता दिएका छौँ । काठमाडौँ महानगरपालिकाले नै निर्माण गर्न लागेको कमलपोखरी अब हेर्न लायकको पोखरी बन्दैछ । केही विवादका कारण ढिला भयो । हामीले त्यसलाई पनि व्यवस्थापन गरेका छौँ । अब रानीपोखरी पनि बन्छ । नेपाल भ्रमण वर्ष २०२० सँगसँगै यी दुई पोखरी बनेपछि काठमाडौँ आएका पर्यटकहरु समेत यी ठाउँ हेरेर आहा भन्दै फर्किने छन् । हामी कमलपोखरी, रानीपोखरीको क्षेत्र विस्तार अभियान सुरु गर्दै छौँ । हनुमानढोका क्षेत्रलाई पनि अलिक फराकिलो बनाउने गरी योजना तयार पार्दैछौँ । हामी बसन्तपुरमा जस्तै अन्य ठाउँमा पनि सम्पदाको समेत संरक्षण गर्दै डवली बनाएर सम्पदाहरु परपरसम्म हेर्न मिल्ने ठाउँ बनाउने तयारीमा पनि जुटेका छौँ । त्यसका लागि हामी सबै सरोकारवालासँग पनि छलफल गरेर अघि बढ्छौँ ।

हरियाली प्रवद्र्धनमा चाँहि महानगरपालिकाको पहल के–के भैरहेको छ ?

हामीले हरियाली प्रर्वद्धनका लागि धेरै ठाउँमा पार्क बनाएका छौँ । कतिपय ठाउँमा बन्दैछन् । कतिपय ठाउँमा खरिद प्रक्रिया अघि बढेको छ भने कतिपय ठाउँमा पार्क बनाउनका लागि गुरुयोजना बनाई रहेका छौँ । हाम्रै कार्यकालमा न्युनतम ५० भन्दा बढी साना–ठूला पार्क बन्नेछन् । हामीले धेरै ठाउँमा आइल्याण्डलाई व्यवस्थापन गरेका छौँ । हामी हरियालीसँगै महानगरभित्रका ठाउँ–ठाउँमा फुल फुलाउने अभियानमा पनि जुटेका छौँ । यसरी हामी यहाँको वातावरण सुधार, पूर्वाधार निर्माण र सम्पदा संरक्षणको काम गरिरहेका छौँ । हामीले ट्राफिक व्यवस्थापनका लागि केही ठाउँमा पिक एण्ड ड्रपलाई अघि बढाएका छौँ । हामी अन्य ठाउँमा पनि त्यो अभियान अघि बढाउने सोँचमा छौँ । हामीले यहाँको ट्राफिक व्यवस्थापनलाई अझै व्यवस्थित गर्न सकेका छैनौँ । हामी पहल गरिरहेका छौँ । हामी ठूला सार्वजनिक गाडीलाई प्रोत्साहन र साना सार्वजनिक गाडीको विस्थापन गर्ने योजनालाई पनि प्राथमिकता दिएका छौँ हामी सम्वन्धित विभाग, मन्त्रालय र ट्राफिकसँग पनि समन्वय गरेर अघि बढिरहेका छौँ । उहाँहरुले पनि हाम्रो मागलाई सम्वोधन गर्नुभयो भने निकै सहज हुनेछ । हामीले यसो नगर्ने हो भने ट्राफिकको समस्या झन–झन जटिल भएर जाने खतरा छ । जनसङ्ख्या बढेको बढेकै छ र बाटो बढ्ने अवस्था छैन । यहि अवस्था हो भने अहिलेको बाटोले थेग्न सक्ने अवस्था छैन । यो जटिलतालाई सहजिकरण गर्ने भनेको ठूला गाडीलाई प्रोसाहन नै हो । समग्रमा भन्ने हो भने धुलो विस्तारै नियन्त्रण हुँदै गएको छ । फोहोर–मैला व्यवस्थापन हुँदै गएको छ । १२–१३ वर्षदेखि अलपत्र रहेको बञ्चरे डाँडामा फोहोर–मैला व्यवस्थापन गर्ने काम हाम्रै पालमा सुरु भएको छ । हामी त्यहाँ नयाँ प्रविधिको प्रयोग गरेर फोहोर व्यवस्थापन गर्ने तयारीका साथ अघि बढेका छौँ । यो विषयमा पनि हामी गहिरोसँग छलफल गरिरहेका छौँ । त्यसलाई कार्यान्वयन गरेरै छाड्छौँ । संघीय सरकारले पनि बञ्चरे डाँडामा ल्याण्डफिल्ड निर्माण गर्न एक अर्व ५६ करोड सहयोग गरेको छ । यो कुरामा हामीले संघीय सरकारलाई पनि धन्यवाद दिनुपर्छ ।

काठमाडौँ महानगरपालिकाले भौतिक पूर्वाधार र सम्पदा पुर्ननिर्माण मात्र होइन दमकल भवन निर्माण गर्ने, स्वर सम्राट नारायगोपाललगायतका राष्ट्रका अमूल्य गहना कलाकारहरुको सम्मानमा पनि उल्लेख्य काम गरेको छ भनिएको छ नि ?

हामीले बौद्ध रामहिटी करीक आठ करोड खर्च गरेर दमकल भवन र ट्रेनिङ सेण्टर निर्माण गरिसकेका छौँ । त्यहाँ हामीले तीन ओटा दमकल राख्ने गरी प्रक्रिया अघि बढाएका छौँ । हामी सकेसम्म यहि महिनामा उद्घाटन गर्ने तयारीमा छौँ । त्यो भवन हामीले दमकल सेवा दिन सक्ने गरी निर्माण गरेका हौँ । त्यसैगरी नारायण गोपाल गुर्वाचार्य र पेमला गुर्वाचार्य उहाँहरुकै सम्झनामा उहाँहरुकै जग्गामा करीब ६ कोरोड जति लाग्ने गीत–गंगा भवन निर्माण गर्ने भनेर केही दिन अघि मात्रै मैले नै शिलान्यास गरेको छु । यो वर्ष मात्रै हामीले त्यो भवन निर्माणका लागि तीन करोड विनियोजन गरेका छौँ । नाराण्गोपालको सम्झनामा भवन बन्नुपर्छ भन्ने सम्पूर्ण कलाकारको माग थियो माग थियो, त्यो पूरा गरेका छौँ । । स्रष्टाहरुको सम्मानमा पनि महानगरपालिका उत्तिकै लागेको छ है भन्ने सन्देश दिएका छौँ । तारादेवीको नाममा फाउण्डेशन खोलिएको रहेको । हामीले त्यो फाउण्डेशनलाई तारादेवीको नाममा अक्षयकोष स्थापना गर्न पनि १० लाख दिएका छौँ । अन्य कलाकारहरुले पनि उसलाई भयो हामीलाई खोइ ? भनेर होइन समष्टिगत माग राखेर आउनुभयो भने महानगरपालिका सहयोग गर्न तयार छ ।

इन्द्रजात्रालाई अन्तराष्ट्रिय रुपमा समेत परिचित गराउने गरी विदेशी पाहुनलाई इन्द्रजात्रा अवलोकनका लागि बोलाएको कुरा पनि तपाईँको कार्यकालमा भएको अर्को महत्वपूर्ण काम हो । यो सन्दर्भमा तपाईँको भनाई के–छ ?

यहाँ जति पनि जात्रा–पर्वहरु छन् ती सबैलाई हामी आएपछि सबैसँग सहकार्य गरेर व्यवस्थापन गर्दै आएका छौँ । पहिला–पहिला राजाका पालमा इन्द्रजात्रा सिमित व्यक्तिहरुले मात्र चलन थियो । पछि त्यो देशको जात्राका रुपमा अघि बढ्यो । अहिले हाम्रो पालामा त्यो जात्रालाई अन्तराष्ट्रिय जात्राका रुपमा अघि बढाउन सफल भएका छौँ । यो पटक हामीले विभिन्न देशका मेयर–उपमेयर र जनप्रतिनिधिलाई नेपालमा बोलाएर इन्द्रजात्रा पर्वलाई भव्य रुपमा मनायौँ र इन्द्रजात्रालाई विश्वमा चिनाउने प्रयास गर्यौँ । इन्द्रजात्रा अवलोकनका लागि छिमेकी मुलुक चीन, भारतसँगै भुटान, वंगलादेश अनि जापान, अमेरिकासम्मका जनप्रतिनिध आउनु भएको थियो । राज्यले सम्मान गरेर भत्ता दिएर राखेकी जिवित कुमारीलाई रथमा राखेर घुमाउने जात्राको समेत उहाँहरुले अवलोकन गर्नुभयो । भैरवको जात्रा पनि उहाँहरुले अवलोकन गर्नुभयो । यो विश्वमा नेपाल बाहेक कतै पनि छैन । यी सबै कुराबाट उहाँहरु धेरै उत्साहित भएर फर्किनुभयो । यसले हामीलाई थप उत्साहित बनाएको छ । यहाँका जनताले पनि पूर्णरुपमा सहयोग गर्नुभयो ।

हामीले यी जात्रा–पर्व मनाउनका लागि पनि धेरै सहयोग गर्दै आएका छौँ । हामीले वर्तमान कुमारी, गणेश र भैरवलाई मात्र होइन पूर्व कुमारी गणेश र भैरवलाई पनि सहयोग रकम बढाएका छौँ । त्यसले महानगरले संस्कृति र परम्पराप्रति गर्ने सम्मान बढाएको छ । त्यति मात्र होइन हामीले जात्रा–पर्व मनाउने भनेर महानगरपालिकाकै अगुवाईमा पाँच करोडको अक्षयकोष स्थापनाका लागि एउटा कमिटी नै बनेको छ । यो कामले पनि छिट्टै पूर्णता पाउने हामीले विश्वास लिएका छौँ । महानगरपालिकाको यो प्रयासबाट संम्पदा र संस्कृति प्रेमीहरु उत्साहित भएका छन् । हामीले नेपाल भ्रमण वर्षलाई लक्षित गरेर पनि धेरै कामहरु अघि बढाएका छौँ । विश्वका पर्यटकहरु आउने ठाउँ महानगरपालिकालाई हामीले पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण ठाउँ बनाउने गरी थप अभियान अघि बढाएका छौँ ।

तपाईँको कार्यकालमा भएको अर्को राम्रो काम भनेको ३२ ओटै वडाका वडा भवन निर्माणका लागि थालेको पहल पनि हो । त्यस्तै सबै सामूदायिक विद्यालयलाई विद्यार्थीमैत्री बनाउने पहल पनि अर्को महत्वपूर्ण काम हो । यो सन्दर्भमा पनि केही भन्दिनु न ?

काठमाडौँ महानगरपालिकामा हामी निर्वाचित भएर आएपछि सबै भन्दा पहिला जनतालाई सेवा लिने कार्यालय व्यवस्थापन हुनपर्छ भनेका थियौँ । अहिले धेरै जसो कार्यालय हेर्ने हो भने बस्ने ठाउँ पनि नहुने, बस्ने ठाउँ बस्न लायक पनि नहुने थियो । हामी आएपछि सबै भन्दा पहिलो त्यसको व्यवस्थापनमा लाग्यौँ । अहिले धेरै जसो वडा कार्यालयको आफ्नै भवन बन्ने क्रम जारी छ । कतिपय वडाको त भवन निर्माण नै भै सकेको छ । कतिको भने प्रक्रिया अघि बढेको छ । हाम्रो कार्यकालमा ३२ वटै वडाको वडा भवन बन्छ । हामीले ती सबै वडाका बाहिरी भवनको स्वरुपलाई नेपालीपन दिएर (ढाँक्षी अपा राखेर)अघि बढाएका छौँ । ती सबै भवन जेष्ठ नागरिक र अपाङ्गमैत्री बन्दैछन् ।
स्थानीय तहले विद्यालयको जिम्मेवारी पाइसकेपछि भित्रि रुपमा विद्यार्थीको क्षमता वृद्धि गर्ने कुरामा त्यहाँको शिक्षक र व्यवस्थापन समिति नै लाग्नुपर्छ । काठमाडौँ महानगरपालिकाले बाहिरी वातावरणलाई चाँहि केही सुधार गर्नुपर्छ भनेर हाम्रो क्षेत्र भित्ररहेका ९३ ओटा सामूदायिक विद्यालयमा महानगरपालिकाकै खर्चमा एकै प्रकारको रंड–रोगन गर्ने, खेलमैदान निर्माण गरिदिने, विद्यालय हाताभित्र फलफुल र अन्य विरुवाहरु रोप्ने, सौचालय निर्माण गर्ने, फोहोर व्यवस्थापन गर्ने , खानेपानीको व्यवस्थापन गर्ने जस्ता पहल थालेको छ । त्यतिमात्र होइन महानगरपालिका भित्र कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट बञ्चित हुनुनपरोस भनेर हामीले अभियान सञ्चाल गरेका छौँ । त्यसका लागि सबै वडामा अनुगमनकार्यलाई पनि तिव्रता दिएका छौँ ।

तपाईँले नेतृत्व लिएपछिको तेस्रो र महानगरको २५ औँ दिवस मनाउँदै गर्दा तपाईँलाई जनप्रतिनिधि र कर्मचारीबाट कत्तिको सहयोग प्राप्त भएको महशुस गर्नुभएको छ ?
काम गर्ने दौरानमा कर्मचारीबाट पूर्ण रुपमा सहयोग प्राप्त भएको छ । हामीले हरेक निर्णय सम्वसम्मत् रुपमा गर्दै आएका छौँ । निर्णयलाई कार्यान्वयन गर्ने कुरामा पनि हामीले सर्वसम्मत रुपमा नै अघि बढाएका छौँ । त्यस्तो विवाद मैले अहिलेसम्म भोग्नु परेको छैन । मलाई आशा छ, मेरो कार्यकाल भरी यस्ता समस्यालाई झेल्नु पर्ने छैन । म सबैलाई समान व्यवहार नै गरेर विकास निर्माणका कामलाई पनि विषेश ध्यानमा राखेर अघि बढ्ने छु । जहाँसम्म कर्मचारीको सन्र्दभ छ त्यहाँ चाँहि सबै कर्मचारीबाट होइन केही कर्मचारीले जनप्रतिनिधि अस्थायी हुन् हामी स्थायी हुँ भन्ने प्रवृत्तिले काम गरिदिदाँ मेरो काम गर्ने गतिमा केही अवरोध बेला–बेलामा हुने गरेको छ । पहिला जनप्रतिनिधि नहुँदा कर्मचारीले नै मेयरको हैसियतमा र वडा सचिवले नै वडाध्यक्षको हैसियतमा काम गरेको हुनाले अहिले पनि बेला–बेला केही कर्मचारीले मेयर र वडाध्यक्ष नै मै हुँ भन्ने ढंगको व्यवहार देखाउन खोज्दा समस्या हुने गरेको छ । जनप्रतिनिधिले नीति बनाउने हो कार्यान्वन गर्ने भनेको कर्मचारीले हो ।

छिटो–छिटो कार्यकारी फेरिदाँ पनि मलाई काम गर्न केही असजिलो भएको छ । फेरिएर आएको कार्यकारीलाई बुझन समय लाग्ने बुझन् थालेपछि फेरिने गर्दा पनि मलाई काम गर्न केही समस्या भएको छ । यहाँ आएको कार्यकारी यहि बसेर रमाउँछु, महानगरको सेवा गर्छु भन्ने भयो भने अहिले जति काम भएको छ त्यसको १० गुणा बढी फड्को मार्न सकिन्छ भन्ने लागेको छ । काममा ढिलासुस्ती हुनुको कारण पनि यहि हो । कतिपय अवस्थामा त हाम्रै कर्मचारीले सूचना चुहाइदिदाँ पनि समस्या हुने गरेको छ । महानगरवासी पनि हामीबाट उत्साहित छन् । उनीहरुको सहयोग निरन्तर रहेको छ । अधिकांश कर्मचारी सहयोगी छन् तर केही कर्मचारीका कारण समस्या भएको छ । त्यस्ता कर्मचारीले पनि महानगरको हितलाई सर्वोपरी ठानेर काम गर्ने हो भने अझै धेरै गर्न सकिन्छ ।

अकुपाई टुँडिखेल अभियानका सन्र्दमा तपाईँको बुझाई के–छ ?

केही व्यक्तिहरु कुनै न कुनै बाहाना खोजिरहेका हुन्छन् । कतिपयलाई चाँहि त्यो सामाजिक सञ्जालमा राख्नका लागि पनि केही–केही बाहना चाहिन्छ । समाचारमा आफ्नो तस्बिर छाप्नका लागि पनि केही–केहीलाई केही न केही बाहना बनाउनु पर्ने आदत बनेको हुन्छ । कतिपयले त समाचारको पात्र बन्नका लागि पनि विभिन्न खाले अभियान चलाइरहेका छन् । अहिलेको अभियान पनि त्यस्तै होइन भन्ने अवस्था देखिएको छैन । साच्चिकै भन्ने हो भने अहिले महानगरपालिकाले अहिले गरेको कामलाई विरोध गर्नुपर्ने खास कारण छ जस्तो मलाई लाग्दैन । म त्यो अभियानमा लागेका साथिहरुलाई सोध्न चाहन्छु– उहाँहरुले आफ्नो घर निर्माण गर्दा निर्माण सामाग्री कहाँ थुपार्नु हुन्छ । त्यो पनि एक पटक आफूले आफैलाई हेर्नुहोस् पनि भन्न चाहन्छु । अहिले टुँडिखेल अकुपाई भन्नेले वसन्तपुर अकुपाई भन्ने कि नभन्ने ? वसन्तपुर वरीपरी रहेका र आफूलाई स्वतन्त्र अभियन्ता भन्ने साथीहरुलाई मुख्य गरेर म यो प्रश्न गर्न चाहन्छु । तपाईँहरु धेरै जनाले योजना नै त्यतैतिर बसेर बनाएको देखिन्छ । नौ तले दरवार अघि अहिले त्यहाँ कन्टेनर राखेर एकातिर चाइनिज र अर्कोतिर पुरातत्व विभागले निर्माण सामाग्री थुपारेको छ । अब त्यसलाई अकुपाई हनुमानढोका भन्न मिल्ने कि नमिल्ने ? टुँडिखेल मेयरले बेचेर खायो भन्दै हल्ला गरे जस्तै यो हनुमानढोका बेचेर खायो भन्न मिल्ने कि नमिल्ने ? मैले यसो भन्नुको अर्थ के–हो भने यो आग्रह–पूर्वाग्रहले अभियान सञ्चालन भैरहेको छ । यो धेरैलाई भ्रमित गर्ने हिसावले भैरहेको छ । अहिले महानगरवासी सचेत छन् । त्यसकारण आग्रह–पूर्वाग्रहले गरेको अभियानमा यहाँका बासिन्दा भ्रमित हुँदैनन् । हरेक मानिसलाई पटक–पटक सन्देश पठाउँदा पनि त्यो अभियानप्रति चासो नदेखाउनु भनेको यो अभियान आग्रह–पूर्वाग्रहले प्रेरित भएर हो भन्ने थाहा पाएर नै हो ।

कतिपय ठाउँमा त अकुपाई टुँडिखेलमा मेयर नै उपस्थित भनेको थियो आएन भनेर पनि भ्रम फैलाउने काम भएछ । म प्रष्टसँग भन्न चाहन्छु, अझै दोहोर्याएर भन्न चाहन्छु । महानगरपालिका टुँडिखेल कब्जा गर्ने नीतिमा छैन । अहिले जहाँ निर्माण सामग्री थुपारेर कब्जा गरियो भन्ने भ्रम फैलाइएको छ । त्यो भ्रम फैलाउने काम मात्रै हो । महानगरपालिकाले दरबार हाइस्कुल र वीर अस्पतालमा बन्दै गरेका संरचनाका निर्माण सामग्री त्यो पनि अस्थायी रुपमा राख्न दिएको हो । ती संरचना सम्पन्न हुने तयारीमा छन् । ती संरचना बनिसक्ने वित्तिकै त्यहाँ खाली हुन्छ । वीर अस्पताल, रानीपोखरी, धरहरा, दरबार हाइस्कुल जस्ता राष्ट्रिय महत्वका योजना हुन् । ती योजनालाई सफल बनाउनु महानगरपालिकाको पनि दायित्व हो । सडकमा हिलो र धुलो आउन नदिनका लागि महानगरपालिकाले ती ठाउँमा निर्माण सामग्री राख्न दिएको हो । त्यो सबैलाई छर्लङ हुने कुरा हो । महानगरपालिकाले त्यहाँ निर्माण सामग्री राख्न नदिएको र बाटोभरी राखेको भए त्यो वरपरको वातावरण कस्तो हुन्थ्यो होला ? म उहाँहरुलाई त्यतातिरबाट पनि सोच्न आग्रह गर्छु । त्यसलाई व्यवस्थापन गर्ने दायित्व त महानगपालिकाको पनि त होला नि ? धेरै मानिसले यो कुरा बुझेका छन् । तर, आफु केही पनि गर्न नसक्ने अनि दोष जति अरुलाई देखाएर आनन्द लिने प्रवृत्ति उचित होइन । कुनै बेला सफा ठाउँमा पनि योजनाबद्ध रुपमै फोहोरका पोका मिल्काएर तस्बिर खिचेर त्यहि तस्बिरमा मेरो पनि तस्बिर जोडेर ‘फोहोर यहाँ छ, मेयर कहाँ छ ?’ भन्दै सामाजिक सञ्जालमा हालेर आनन्द लिने समूह पनि सक्रिय थियो । उनीहरुले त्यस्तो अभियान नै चलाएका थिए । अहिले अकुपाईँ टुँडिखेल पनि त्यस्तै अभियान नवनोस् भन्ने मेरो सुझाव छ । अहिले नाम स्वतन्त्र अभियान दिइएको छ तर त्यहाँ अभियानमा सक्रियहरु कुन–कुन पार्टीमा संलग्न छन्, उनीहरुको पार्टीमा के–के हैसियत छ । सबै मलाई जानकारी छ ।

म पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पूर्वमन्त्री हिसिला यमी, भिमसेनदास प्रधान, गगन थापाहरु जस्ता राजनीतिमा निकै उचाई प्राप्त गर्नुभएका व्यत्तिहरुलाई प्रश्न गर्न चाहन्छु । ‘महाननगरले टुँडिखेल बेच्न पाइँदैन, सम्पदा मास्न पाइँदैन’ भन्ने प्लेकार्ड छातिमा राखेर टुँडिखेलमा उभिने ने अनि हामीलाई अभियन्ताले बोलाए अनि साथ दिएको भन्ने कुरा लज्जाबोध बाहेक केही पनि होइन । यो जनता हँसाउने काम हो । केही व्यक्तिलाई प्रयोग गरेर केहीले आफ्नो स्वार्थपूर्ति गर्ने काम गरेका छन् । यो गलत छ ।

भिमसेन दास प्रधान नै रक्षामन्त्री रहेका बेला टुँडिखेलमा सेनाले संरचना बनाउन अनुमति पाएको भन्ने पनि छ नि ?

हो, भिमसेन दास प्रधान रक्षामन्त्री रहेका बेला नै सैनिकले टुंडिखेलमा संरचना बनाएका हुन् । आफू रक्षामन्त्री भएका बेला संरचना बनाउन अनुमति दिनुे आफू चुँ बोल्न नसक्ने अनि मन्त्री फुस्किने वित्तिकै यो मेयरले भत्काउनुपर्छ भनेर नारा लगाउनु भनेको लोक हसाँउने कुरा मात्रै हो । उहाँ जस्तो अध्ययनशील, बौद्धिक व्यक्तिले यस्तो कुतर्क गर्नुहोला भनेर मैले कल्पनासम्म गरेको थिइँन । उहाँ मैले सम्मान गर्ने व्यक्ति भित्रै पर्नुहुन्छ । हिजो आन्दोलनका बेला उहाँको पछिपछि लागेको पनि हुँ । म उहाँलाई प्रश्न गर्न चाहन्छु– ‘दाई तपाईँ रक्षामन्त्री रहेका बेला मन्त्रिपरिषद्बाट निर्णय गर्नुभएको भए भै हाल्थ्यो नि ? अहिले किन भ्रम छर्ने काम गरिरहनु भएको छ ?’ महानगरपालिका एक्लैको निर्णयले सेनाले बनाएका संरचना हट्दैनन् भन्ने हेक्का त भिमसेन दास जस्तो बौद्धिक व्यक्तिले थाहा पाउनुपर्छ नि । अनावश्यक रुपमा जनतालाई भ्रमित गर्ने कुरा उचित होइन । उहाँहरु खुलामञ्चमा राखेका निर्माण सामाग्री अब छिट्टै हट्दैछन् भन्ने थाहा पाएर नै हामीले अभियान सञ्चालन गरेपछि हट्यो भन्ने जस लिनका लागि अभियान चलाइरहनु भएको जस्तो लागेको छ । यस्तो भ्रम छर्ने काम नगर्नुहोला मेरो सुझाव छ । महानगरपालिका टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियानमा हिजो थियो, आज छ र भोलि पनि रहिरहने छ । तर, राजनीतिक रुपमा अरु इस्यु नपाएपछि अहिले गरिएको यस्तो अभियानमा महानगरवासीको साथ छैन ।

प्रस्तुतिः मोहन बास्तोला