अस्ट्रेलियामा डढेलो फैलियो, हजारौँ मानिस भागेर समुद्री तटमा शरण लिँदै

maitrinews

अस्ट्रेलिया । अस्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिएपछि हजारौँ मानिसहरू भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन्।
भिक्टोरियामा एउटा डढेलो तटीय सहर म्यालकूटातर्फ फैलिँदै गर्दा धुवाँ र खरानीले घरहरू ढाकिएका छन्।
स्थानीय बासिन्दाहरूले समुद्रको किनारमा सीमित सामग्रीको भरमा रातो आकाशमुनि रात बिताउनुपरेको बताएका छन्।

यसैबीच अधिकारीहरूले न्यू साउथ वेल्समा दुई जनाको मृत्यु भएको पुष्टि गरेपछि डढेकोका कारण अस्ट्रेलियामा ज्यान गुमाउनेहरूको सङ्ख्या १२ पुगेको छ।
सिड्नी र मेल्बर्नको बीचमा पर्ने कतिपय बिदा मनाउने स्थानहरू डढेलोका कारण बन्द भएका छन्।
न्यू साउथ वेल्स र भिक्टोरियाको ५०० किलोमिटर क्षेत्रमा आपत्‍कालीन स्तरका एक दर्जनभन्दा बढी डढेलो लागेको छ।
बुवा र छोरा अनुमान गरिएका दुई जनाको शव कोवार्गो सहरमा फेला परेको थियो। सो सहरको मूल सडकमा मङ्गलवार ठूलो आगलागी भएको थियो। अधिकारीहरूले अन्य पाँच जना हराइरहेको बताएका छन्।

भिक्टोरियाका राज्य प्रमुख ड्यान्यल एन्ड्र्यूजले जलसेनाको जहाजलाई सडक बन्द भएका सहरहरूमा खाना, पानी र बिजुली उपलब्ध गराउन बोलाउन सकिने बताएका छन्। त्यहाँको मुख्य राजमार्ग बन्द गरिएको छ।
सडक बन्द भएका कारण एक्लिएका केही स्थानहरूमा समुद्रको बाटो जान सकिन्छ, उनले भने।