रुसी राष्ट्रपति पुटिनद्वारा कानुन सुधारको घोषणा, प्रधानमन्त्रीद्वारा राजीनामा

maitrinews

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वर्तमान् संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेभले राजीनामा दिनुभएको छ । सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसदलाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनोट गर्ने अधिकार समावेश गरिएको छ ।

प्रधानमन्त्री मेदभेदेभले राष्ट्रपतिको कदमलाई सहयोग पुगोस् भनेर आफूले राजीनामा दिएको बताउनुभएको छ । प्रधानमन्त्री मेदभेदेभले भन्नुभएको छ , ‘‘वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजिनामा दिएको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।’

टेलिभिजनमार्फत् भएको सम्वोधनमा मेदभेदेभले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री मेदभेदेभका अनुसार कानून सुधारका आगामी सबै निर्णय अब राष्ट्रपति पुटिनले गर्नुहुनेछ ।

राष्ट्रपति पुटिनले नयाँ सरकार नबनाएसम्म सरकार प्रमुखको रूपमा काम गरिरहन मेदभेदेभलाई आग्रह गर्नुभएको छ । ‘मैले प्रधानमन्त्रीका रूपमा तपाईँले गरेका सबै कुराका लागि तपाईँलाई धन्यवाद दिन चाहन्छु, यस क्रममा उपलब्धि हासिल गरेका नतिजाहरूप्रति आभारी छु,’ पुटिनले भन्नुभयो । पुटिनले सुरक्षा परिषद्को उपप्रमुखको पद पनि प्रस्ताव गर्दै त्यसका लागि नेतृत्व लिन मेदभेदेभलाई सुझाव दिनुभएको छ ।
एक हप्ता पहिले पुटिनले संसदको भूमिका सुदृढ पार्ने रूसको संविधानमा सुधारको प्याकेजमा जनमत संग्रहको प्रस्ताव गर्नुभएको थियो ।