शान्तिलाई समाजले दियो पीडैपीडा

maitrinews

 

काठमाडौँ । कलिलो उमेरमा बलात्कारपछि मृत्यु भएकी छोरीको आत्माले न्याय पाउला, नपाउला उनलाई थाहा छैन । छोरीको मृत्युपछि उनलाई समाजले दिएको पीडा झन् गहिरिँदै गएको छ । पछिल्ला साढे सात महिनामा आफैंले कति आँसु बहाए भन्ने हिसाब देवदह नगरपालिका–११ बडकीगुम्बी टोलकी शान्ति पासीले राखेकी छैनन् ।

गत जेठ ९ गते उनकी १३ वर्षीया कान्छी छोरी अंगिरा पासीलाई स्थानीय २७ वर्षीय वीरेन्द्र भरले बलात्कार गरेका थिए । बलत्कारपछि स्थानीय अगुवा र वडाध्यक्ष अमरबहादुर चौधरीसहितले अंगिरालाई ‘जर्बजस्ती’ केटाको जिम्मा लगाएर पठाए । वीरेन्द्रले घरमा भित्र्याउन खोज्दा आमा अकालीदेवीले कुटपिट गरेर लखेटिन् । भोलिपल्ट साँझ अंगिराको शव रोहिणी खोलाछेउ भिलोरको रूखमा पासो लगाएर झुन्डिरहेको अवस्थामा फेला पर्‍यो । घटनाको ६ दिनपछि प्रहरीले कपिलवस्तुको चन्द्रौटाबाट वीरेन्द्रलाई र घरबाटै उनका आमा अकालीदेवी र ठूलीआमा शीतलीलाई पक्राउ गर्‍यो ।

कसुरदार पक्राउपछि थोरै भए पनि शान्तिको सास फेरेकी शान्ति छठको साँझ हावासरी हुँदै आएको एउटा खबरले शीतांग भइन् । जबर्जस्ती करणी, जातीय छुवाछूत र आत्महत्या दुरुत्साहनको मुद्दामा थुनामा रहेका वीरेन्द्रका आमा अकालीदेवी भर र ठूलीआमा शीतली भर १ सय ४३ दिन थुनामा बसेर उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा मंसिर ४ गते छुटेछन् । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायाधिवक्ता डम्मरप्रसाद काफ्लेले उच्च अदालत तुलसीपुर बुटवल इजलासले मागेपछि मुद्दाको मिसिल उतै पठाइएको थियो । उनले भने, ‘फाइल फिर्ता नआएको हुँदा थुनछेक आदेशान के भएको छ भन्ने थाह भएन ।’

थुनाबाट छुटेको केही दिनमै शान्तिको अकालीदेवीसँग बाटोमै जम्काभेट भयो । अकालीले देख्नेबित्तिकै मुखभरिको गाली गरिन् र भनिन्, ‘तेरी छोरी त मरी । अब फर्केर आउँदिनँ । हेर्दै जानू, म जसरी नै मेरो छोरा पनि फर्केर आइहाल्छ ।’ अकालीले त्यसो भनेको रातभर शान्तिलाई निद्रा परेन । कतै अकाली र शीतलीहरू आएर घाँटी थिचेर मारिदिन्छन् कि भनेर उनको मनभरि कुरा खेलिरह्यो । उनले यति भन्नेबित्तिकै आँखाका डिल भरिए । उनले सारीको सप्कोले आँसु पुछिन् ।

अंगिराका छिमेकी सन्दीप पासीका अनुसार उनीहरू छुटेको भोलिपल्ट छठपूजा थियो । त्यो साँझ शीतली रोहिणी खोलाछेउमा पूजा गर्न बसेकाहरूलाई ‘हामी छुटेर आयौं, अब एकदिन छोरा पनि छुटिहाल्छ’ भनेर सुनाउँदै हिँडेकी थिइन् ।

छोरीमाथि बलात्कार भएपछि प्रहरीमा मुद्दा दर्ता गर्दा खेपेको हैरानी, अदालती प्रक्रिया नबुझ्दाको सास्ती र छुटेर आएकाहरूले देखाउने धम्कीपूर्ण व्यवहारले शान्तिको मनमा चोट थपिदिएका छन् । दस वर्षअघि श्रीमान् बितेपछि शान्तिले चार छोरी र एक छोरालाई आफ्नै बलबुताले हुर्काएकी थिइन् । तीन छोरीको बिहेपछि उनले अंगिरा र करिब १८ वर्षका छोरा दीपेन्द्रलाई हुर्काइरहेकी थिइन् । अंगिराले घरधन्दा, घाँस काट्ने र बस्तुभाउको सबै काम धानिदिएकैले शान्ति र दीपेन्द्रले ज्यालादारी काममा जान पाएका थिए । दुवैले दिनमा जनही साढे पाँच सयका दरले कमाउँथे, जसबाट घर खर्च धानेको थियो ।

अंगिराको बलात्कार र मृत्युपछि शान्तिका सबै काम बिथोलिए । मनमा गहिरो चोट त छँदै छ, घर व्यवहार धन्दाको सास्तीले उनी थप आत्तिएकी छन् । शान्तिले सुनाइन्, ‘पहिला पो झाडु पोछा, खाना बनाउने, घाँस भुसाको सब काम अंगिराले गरिदिन्थी । म काममा जान्थें । अहिले सबै काम मेरो थाप्लोमा परेको छ ।’ शान्ति ज्यालादारी काममा जान छाडेकी छन् ।

दीपेन्द्र बिहान काममा जान्छन् । साँझ थकानले लोत भएर फर्किन्छन्  । बिमार परेका बेला शान्तिको मन झनै अंगिरातिरै एकोहोरिन्छ । उनले भनिन्, ‘खुट्टा दुखेका बेला अंगिराले मालिस गरिदिन्थी । अहिले कसले गर्छ भन्ने सम्झिन्छु अनि रून्छु ।’ घाँस काट्ने, कुडो बनाउने, पोछा लगाउने बेला पनि शान्तिलाई अंगिराको याद आइरहन्छ । ‘मन भुलाउन खोज्छु, तर अंगिराको सम्झनाले छोपिहाल्छ’, उनले भनिन्, ‘राति सपनामा पनि अंगिरा आएर बोलाएजस्तो लाग्छ ।’

छोरी झुन्डिएको रोहिणी खोला किनारको बाटो भएर उनी नहिँडेको साढे सात महिनाभन्दा धेरै भयो । त्यति नै महिना भयो, शान्ति साँझ ढल्किन थालेपछि घर बाहिर निस्कन छाडेको । त्यति नै महिना भयो उनी बजार गर्न र घाँस काट्न एक्लै जान छाडेको । उनले भनिन्, ‘कसैले केही गरिहाल्छ कि भनेर डर लाग्छ । साथीबिना हिँड्दिनँ ।’ शान्तिको घरमा झ्यालरढोका छैन । बन्दाबन्दै वर्षौंदेखि अधकल्चो रहेको घरको पिँढीमा उनी चारपाई ९डोरीको खाट० मा सुत्छिन् । उनले भनिन्, ‘कोही आउँछ, मेरो घाँटी न्याक्छ कि जस्तो हुन्छ अनि निद्रै पर्दैन । राति १२र१ बजेपछि कसो कसो निदाउँछु ।’ वीरेन्द्रकी आमासँगै पक्राउ परेकी शीतलीका दुई छोराले चारपाँच पटक साँझ ढल्केपछि शान्तिको घर अगाडि आएर चर्कोसँग कराउँदै उनलाई गाली गरे, जे पनि गर्न सक्ने भन्दै धम्क्याए । छिमेकी सन्दिपले सुनाए, ‘पुलिसलाई भनेपछि उनीहरू आउन छाडे । तर त्यसपछि अंगिराकी आमा झनै धेरै डराउन थाल्नुभयो ।’

बलात्कारपछि अंगिरालाई गाउँले र वडाध्यक्षले वीरेन्द्रको जिम्मा नलगाएको भए के हुन्थ्यो रु शान्तिको मनमा यस्तो कुरा तारन्तार आउँछ । गाउँका बुज्रुक भेला भएर होहल्लाको शैलीमा वीरेन्द्रको हातमा अंगिराको हात बाँधिदिएपछि उनले टुलुटुलु हेर्ने शिवाय केही गर्न सकिनन् । घटनापछि अनेकतिरबाट नेता, अधिकारकर्मी र अगुवा आएर उनलाई सान्त्वना दिएपछि शान्तिले मन बुझाउन थालेकी थिइन् । केही साताअघि उनको टोलमा अनौठो हल्ला चल्यो । वीरेन्द्रकी एक आफन्ती अंगिरा झुन्डिएको खोलाछेउ खेतमा काम गर्न गएकी थिइन् रे । त्यही बेला अंगिराको भूतले उनलाई तर्सायो रे । हल्ला शान्तिको कानसम्म आइपुग्यो । त्यसपछि धेरै दिनसम्म शान्तिको मनमा तुफान मच्चियो । छोरीको आत्मालाई पनि शान्त रहन दिएनन् भनेर उनले सोचिन् ।

छिमेकी सन्दीपका अनुसार अंगिराको मृत्युपछि बडकीगुम्बी टोल दुई भागमा बाँडिएको छ । पासी समुदाय र छिमेकका चौधरी तथा भर समुदायबीच मनोमालिन्य छ । कतिपयबीच बोलचाल बन्द भएको छ । स्थानीय जनप्रतिनिधिले एउटै टोलका दुई समूहबीचको बेमेल मिलाउन प्रयास गरेनन् । अंगिराका एक छिमेकीले सुनाए, ‘हाम्रै विरादरीका भए पनि टोल सुधार समितिका अध्यक्ष अंगिराको घरमै आएनन् ।’

छोरीको मृत्युपछि रित्तो जस्तै भएको घर रुँघिरहेकी शान्तिले १३ औं दिनमा ऋण लिएको ४० हजार खर्चेर आफन्ती र आफ्नो विरादरीकालाई भोज खुवाइन् । त्यो भोजमा पनि छेउछाउमा भोर र अरू कथित उपल्ला जातिहरूका आएनन् ।

मुलुकी अपराध संहिताको दफा २१९ ९२० अनुसार मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरे बलात्कार गरेको मानिन्छ । कानुनमा यस्तो कसुर गर्नेलाई १० वर्ष वा १० वर्षभन्दा बढी, १४ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरे १८ देखि २० वर्षसम्मको कैद सजायको व्यवस्था छ ।

शान्तिलाई यस्तो कानुनी परिभाषाबारे धेरै थाहा छैन । नलाई कसरी शीतली र अकाली छुटेर आए, छोरीको मुद्दा कहाँ पुगेको छ थाहा छैन । वीरेन्द्र पनि यसैगरी फुत्त छुटेर आउँछन् कि भनेर डर लाग्छ । उनले भनिन्, ‘मेरी छोरी त फर्केर आउँदिनँ । तर छोरीलाई त्यस्तो हालतमा पुर्‍याउनेलाई कहिल्यै देख्न नपरोस् ।’