दाहाल–नेपाल समूहका तीन सांसद मुख्यमन्त्री राईको पक्षमा

 

मोरङ । नेकपाको दाहाल–नेपाल समूहका तीन सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिई मुख्यमन्त्री शेरधन राईतर्फ आएका छन् । प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले तीनै जनाले इमेलमार्फत मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको बताए । प्रदेशसभा सचिवालयमा इमेलमार्फत पठाएको पत्रमा नेकपाका सांसद भएर नेकपाकै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त नठानेर हस्ताक्षर फिर्ता लिएको उल्लेख छ ।

यसअघि प्रदेससभा सदस्य कला घले र वसन्तिदेवी यादवले मुख्यमन्त्री राईविरुद्धको हस्ताक्षर फिर्ता लिएको घोषणा गरिसकेका छन् ।उनीहरुले औपचारिक रुपमा प्रदेशसभा सचिवालयमा पत्र भने दर्ता गराएका छैनन् ।

दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । माघ ७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेशसभा बैठक आह्वान गरिसकेका छन् । प्रदेशसभा सचिवालयले बैठकको तयारी गरिसकेको सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *