जुम्लाको गोठीगाउँमा भीषण आगलागी , २५ घर जले

maitrinews

 

जुम्ला । जुम्लाका तिला गाउँपालिका–७ गोठीगाउँमा २५ घर जलेर नष्ट भएका छन् । मंगलबार साँझ गोठीगाउँमा आगलागी हुँदा गाउँका २५ घर जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

आगलागीको खबर पाएपछि खलंगा बजारबाट प्रहरी निरीक्षक नवीन थापा मगरको कमान्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक झुपेन्द्रबहादुर शाहीको कमान्डमा ३ जना र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमान्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा रहेको टोलीले आगलागीबाट २५ घर जलेर नष्ट भएको खबर पठाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताउनुभयो । ‘गाउँका घरहरु जलेर नष्ट भएका छन्,’ उहाँले भन्नुभयो, ‘मानवीय क्षति भने भएको छैन, अन्नबाली र चौपायाको क्षति भएको भन्ने खबर छ । यकिन विवरण अझै आइसकेको छैन ।’

आगलागी भएको गाउँ खलंगा बजा देखि ३५ किलोमिटर पश्चिममा रहेको छ । गोठीगाउँमा हिउँदमा खासै मान्छे नबस्ने भएकाले मानवीय क्षति नभएको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।

मंगलबार साँझदेखि आगलागी भएकोमा बुधबार बिहान सबै मिलेर आगो नियन्त्रणमा लिन सफल भएको बताइएको छ ।