सरकारले विप्लव समूहसँग सुरु गर्‍यो अनौपचारिक वार्ता

maitrinews

 

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच अनौपचारिक वार्ता सुरु भएको छ । सरकारले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन प्रयत्न गर्दै आइरहेका बेला खानेपानी मन्त्री मणि थापाले मङ्गलवार जेलमा रहेका विप्लव समूहका नेतालाई भेटेका हुन् ।

मन्त्री थापाले नख्खु कारागारमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँग करिब ४५ मिनेट कुराकानी गरेका हुन् ।
लक्खु कारागारमा खानेपानी समस्या रहेको र कारागार अव्यवस्थित रहेको भन्दै कारागार व्यवस्थापनले गुनासो गरेपछि मन्त्री थापा त्यही बहानामा अनुगमन गर्न भन्दै मङ्गलवार बिहान १० कजे लक्खु कारागार पुगेका थिए ।

सो क्रममा उनले विप्लव समूहका नेता सुदर्शनसँग भेट गरेको नख्खु कारागारका प्रमुख मोहन अधिकारीले जानकारी दिए । भेटमा मन्त्री थापाले विप्लव समूहका नेता सुर्दशनलाई हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउने हो भने सरकार वार्ताका लागि सकारात्मक रहेको र सोका लागि प्रतिबद्धता आए सरकारले प्रतिबन्ध समेत फुकुवा गर्ने बताएको स्रोतले जानकारी दियो ।