बङ्गलादेशबाट युरिया मल ल्याइँदै

maitrinews

 

काठमाडौँ । बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने भएको छ । दुबईको जेन ट्रेड ढुवानी कम्पनीले बङ्गलादेशबाट मल ढुवानी गर्ने ठेक्का पाएको छ ।
सो कम्पनीले मङ्गलबारबाट बङ्गलादेशको बङ्गलादेश केमिकल इन्ड्रस्टिज कर्पोरेसनसँग मल बुझ्ने काम सुरु गर्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले जानकारी दिनुभयो । त्यहाँबाट मल बुझेपछि नेपालसम्म आइपुग्न धेरैमा दुई हप्ता लाग्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बङ्गलादेशले पैँचोमा नै मल दिने भनेको बेला नै हामीले ढुवानी कम्पनी तथा बोरा छपाइ गरी ठीक पारेका थियौँ र उताको कम्पनीले पनि मल तयारी अवस्थामा राखेको थियो तर सरकार–सरकारको बीचमा के कुरा नमिलेपछि पछि जीटूजी सम्झौतामार्फत यो मल ल्याउन लागेको हो । त्यही भएर केही ढिला भएको छ । ” भारतमा भन्सार प्रक्रिया पूरा गरी ढुवानी कम्पनीले जसरी त्यहाँको कारखानाबाट मल प्राप्त गर्छ, त्यसरी नै नेपाल पठाउने काम हुने उहाँले बताउनुभयो ।
बङ्गलादेशको कर्पोरेसनले १० हजार मेट्रिक टन मल प्याकिङ गरेर नै दिनेछ, त्यो बुझ्नेबित्तिकै नेपाल ल्याउने प्रक्रिया सुरु हुने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो । बाँकी ४० हजार मेट्रिक टन मल प्याकिङ गरेर ल्याइने उहाँले बताउनुभयो । उहाँका अनुसार फागुन पहिलो वा दोस्रो हप्तातिर बङ्गलादेशको मल नेपाल आउन सुरु हुन्छ । मल आउने वित्तिकै किसानलाई पनि वितरण गर्ने कार्य सुरु हुने उहाँले बताउनुभयो । बङ्गलदेशबाट आउने युरिया मल चैते धानका लागि मात्र प्रयोग हुने प्रवक्ता पोखरेलले बताउनुभयो ।
अहिले कम्पनीसँग पाँच हजार युरिया, डीएपी २१ हजार, पोटास सात हजार दुई सय मेट्रिक टन मौज्दात छ । वैशाखसम्म एक लाख १० हजार मेट्रिक टन मल कम्पनीको भण्डारमा मौज्दात हुन्छ, जुन धान खेतीका लागि प्रयोग हुने उहाँले बताउनुभयो ।
यसपालि मलको अभाव हुन नदिने भनी कृषि तथा पशुपन्छी मन्त्रालय निकै चासोपूर्वक लागेको र कम्पनी पनि त्यसको तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । सरकारले रासायनिक मल बिक्रीवितरणका लागि निर्देशिका नै जारी गरिसकेको छ । सोही निर्देशिका बमोजिम कुन पालिकामा कति मल चाहिने हो, त्यसको तथ्याङ्क पनि मन्त्रालयले सङ्कलन गरिरहेको छ ।