सुनकोसी–मरिण डाइभर्सन समयमै सम्पन्न होला ?

maitrinews

 

कुसुमटार । पूर्व बग्ने सुनकोसी नदीको पानी पश्चिम बग्ने मरिणमा खसालेर तराईको उर्वर फाँटमा सिँचाइ गर्ने महìवाकाङ्क्षी आयोजनाको शुभारम्भपछि सिङ्गो प्रदेश २ सँगै सिन्धुलीवासीमा खुसी छाएको छ । बिजुली बल्ने, माछापालन र तराई–मधेसका फाँट सिञ्चित भई उत्पादन बढ्ने हुँदा यसले राष्ट्रिय विकासमा बहुआयामिक गति प्रदान गर्ने इन्जिन साबित हुने विश्वास छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले अगाडि बढाएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सिन्धुलीको कमलामाई नगरपालिका–२, कुसुमटारमा शिलान्यास गरेपछि पहाड–मधेसमा खुसी संस्थागत हुँदैछ । कुसुमटारका स्थानीय शिक्षक अरुणकुमार थिङले भन्नुभयो, “अब आयोजना निर्माण हुनेमा हामी ढुक्क भयौँ, अहिले यहाँको जीवनयापन असहज भए पनि भोलिका दिनमा सहज हुने विश्वास जागेको छ ।”
शिक्षक थिङको सुझाव छ, “आयोजनाबाट सिर्जना हुने अवसर, रोजगारी र आय आर्जनमा आयोजना प्रभावित र स्थानीयलाई विशेष प्राथमिकता दिनुपर्छ ।” कुसुमटारकै स्थानीय नवराज थिङले आयोजना निर्माणको काम अगाडि बढेपछि स्थानीय उत्साहित बनेका र राष्ट्रिय गौरवको आयोजना भएकाले समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

प्रभावितलाई पहिलो प्राथमिकता
आयोजनाको ड्यामस्थल सुनकोसी गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मीप्रसाद तिमल्सिनाले आयोजना निर्माण कार्यले स्थानीयमा उत्साह ल्याएको बताउनुभयो । कागजपत्र नमिलेकाबाहेक मुआब्जा वितरणको कार्यसमेत सुनकोसीतर्फ सकिएको जानकारी दिनुहुँदै वडाध्यक्ष तिमल्सिनाले भन्नुभयो, “आयोजना समयमा नै सम्पन्न हुनुपर्छ । यसबाट प्राप्त अवसरमा प्रभावितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।”
सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक सुशीलचन्द्र आचार्यका अनुसार आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षदेखि सुरु भई २०८२÷८३ मा सम्पन्न हुनेछ । सिन्धुली जिल्लातर्फ जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायतका प्राविधिक सबै काम सकिएको छ । २० हेक्टर जमिन अधिग्रहण गरिएको छ भने १५३ जना किसानलाई मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ । भेरी–बबई आयोजनाको सुरुङ खनेको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ९कोभेक०ले नै यो आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको छ ।

बिजुली र सिँचाइ
सुनकोसी नदीमा १२ मिटर अग्लो बाँध निर्माण गरी सुनकोसी नदीको पानी १३ दशमलव तीन किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । यो पानीलाई जलविद्युत् उत्पादन गर्न र सिँचाइ गर्न प्रयोग गरिने छ ।

सुरुङबाट लगिएको सुनकोसीको पानी मरिण खोलामा ६६ मिटर हेडबाट झारेर ३१ मेगावाट विद्युत् उत्पादन गरिने छ । उत्पादित विद्युत् ३७ दशमलव दुई किलोमिटर डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडअन्तर्गत ढल्केबर सबस्टेसनमा जोडिने आयोजनाले जनाएको छ ।
मरिण खोलामा झारिएको पानी बागमती नदीमा मिसिने छ र यसले बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्ने छ । बाँधबाट निर्माण हुने जलाशयमा माछापालन गर्ने योजनासमेत रहेको छ । यो आयोजनाको कुल लागत ४६ अर्ब १९ करोड रुपियाँ रहने अनुमान गरिएको छ । सरकारले यो आयोजना निर्माण गर्न चालू आर्थिक वर्षका लागि दुई अर्ब ४६ करोड रुपियाँ विनियोजन गरेको छ ।

आर्थिक गतिविधि
सुनकोसी–मरिण डाइभर्सन आयोजनाको मुख्य लक्ष्य तराईको उर्वर भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउनु हो । सुनकोसी नदीको पानी मरिण खोलामा झारेपछि बागमतीमा मिसिन्छ र बागमती सिँचाइ आयोजनाबाट किसानको खेतसम्म पुग्ने छ । सहरी विकासमन्त्री प्रभु साहले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट प्राप्त हुने सिँचाइको लाभ प्रदेश २ ले लिने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषिमा आकर्षण पैदा गर्न, उत्पादनमा आत्मनिर्भर बनाउन यो आयोजनाले सहयोग गर्छ । ”
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यो आयोजना निर्माणबाट प्रदेश २ बढी लाभान्वित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो आयोजनाले प्रदेश २ मा विभिन्न विकासका गतिविधि सञ्चालन हुनेछन् । सर्लाही, महोत्तरी, धनुषा, बारा र रौतहट जिल्लामा एक लाख २२ हजार हेक्टर जमिन वर्षैभरि सिञ्चित हुनेछ । ”
मुख्यमन्त्री राउतले सिँचाइ सुविधा भएपछि उत्पादकत्व र उत्पादन बढ्ने चर्चा गर्दै प्रदेश २ को भूमिमा उत्पादन हुने खाद्यान्नले सिङ्गो मुलुकको खाद्यान्न माग पूरा गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले खाद्यान्न आयात गर्नुपर्ने जुन समस्या छ, त्यो अन्त्य हुन्छ । यहाँ उत्पादन हुने ३१ मेगावाट विद्युत्ले उद्योगधन्दा सञ्चालनमा पनि टेवा पु¥याउँछ । अरू विकास र आर्थिक गतिविधि बढ्छन् । ”
यो आयोजना निर्माणसँगै यो क्षेत्र पर्यटकीय स्थलका रूपमा विकास हुने बागमती प्रदेश सांसद विनोद खड्काको भनाइ छ । “सुनकोसी नदीमा बाँध निर्माण भएपछि ठूलो ताल बन्छ । त्यहाँ माछापालनदेखि बोटिङ गर्न सकिन्छ । यसले पर्यटक आकर्षण गर्ने भएकाले स्थानीयलाई रोजगारीको अवसर सिर्जना गर्छ,” उहाँले भन्नुभयो ।

बलियो तटबन्ध
सुनकोसीको पानी मिसाउने मरिण खोला आफैँमा ठूलो खोला हो । यसले पटक–पटक किनारका उर्बर, खेतीयोग्य जमिन कटान गरी बगरमा परिणत गराउँदै आएको छ । यो आयोजना निर्माण पूरा भएपछि सुनकोसीको पानी मरिण खोलामा मिसाउँदा पानीको बहाव झन् बढ्ने भएकाले मरिण खोलादेखि बागमती नदीसम्म दुवै किनारमा तटबन्ध गरिनुपर्ने स्थानीयको माग छ ।
बागमती प्रदेश सांसद खड्काले मरिण खोलामा तटबन्ध निर्माण गरी पूर्ण रूपमा नियन्त्रण हुने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मरिण खोलामा सुनकोसीको पानीको बहाव मिसाएपछि त्यसबाट हुने क्षति कम गर्नुपर्छ । व्यवस्थित बाँध, तटबन्ध र करिडोर निर्माण गरी स्थायी खालको समाधान गर्नुपर्छ । ”
कुसुमटार निवासी स्थानीय शिक्षक अरुणकुमार थिङका अनुसार यो आयोजनाले कुसुमटारका १७ घरपरिवार विस्थापित गर्ने छ । उनीहरूले अहिले घर पनि बनाउन सकेका छैनन् । उहाँले भन्नुभयो, “घरहरू उखेलिएका छन्, भत्किएका छन् । घर बनाउन भनेजस्तो र सोचेजस्तो सुविधा पाउन सकिरहेका छैनन् । काठ, ढुङ्गा, बालुवा, गिटी पाएका छैनौँ । घर बनाउन निकै समस्या परेको छ । ”

तलबितल नपरोस्
सुनकोसी–मरिण डाइभर्सन भनिए पनि तामाकोसीका केही तटीय बस्ती र जमिनसमेत डुबानमा पर्नेछ । सुनकोसी र तामाकोसी किनारमा बसोबास गर्ने माझी समुदायको संस्कृतिमा समेत डुबानले प्रभाव पार्ने भएकाले यस विषयमा आयोजनाले गम्भीरतासाथ ध्यान दिनुपर्ने माग बागमती प्रदेश सभा सदस्य रीता माझीको छ ।
यो आयोजनाबाट रामेछापको मन्थली नगरपालिका–६ र खाँडादेवी गाउँपालिका–४ का पुछिघाट, रजगाउँ, खल्लरी, सेलेघाट, मसानटार र हात्तीटारका जमिन डुबानमा पर्नेछ । माझी जातिको परम्परा, संस्कृति र जनजीवनमा पार्ने प्रभावका विषयमा समेत आयोजना गम्भीर बन्नुपर्ने र त्यसका लागि उचित क्षतिपूर्तिसहितको व्यवस्थापन हुनुपर्ने माग स्थानीय लालबहादुर माझीको छ । स्थानीय माझी समुदायले मरिण डाइसर्भनपीडित समिति गठन गरी आयोजना, स्थानीय निकायलगायत सम्बन्धित पक्षलाई ज्ञापनपत्रसमेत दिएर समस्याको विषयमा ध्यानाकर्षण गराइएको लालबहादुर माझीले बताउनुभयो ।