अन्योलमा माओवादी केन्द्र

maitrinews

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका एजेण्डा पेस भएका छन् । तर आजको बैठकबाट कारबाही गर्न सकेन । पार्टी अन्योलमा छ ।
बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जकोतर्फबाट रिपोर्टिङ, छलफल, सुझाव र टिप्पणी, विधान, संगठनात्मक काम र पार्टी अनुशासन कारबाहीको, कार्यकर्ता भेला, पार्टीको नाम परिवर्तनसहित कम्युनिष्ट पार्टीबीच एकतासम्मका एजेण्डा पेस भएको र छलफल जारी रहेको केन्द्रीय सदस्य युवराज चौलागाइले बताए ।

पार्टी अनुशासनको एजेण्डा अन्तर्गत एमालेमा रहने निर्णय गरेका माओवादी नेताहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको छ । माओवादी नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतका नेताले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने निर्णय गरेपछि उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने भएको हो । यद्यपी आइतबारकै बैठकबाट कारबाहीको निर्णय भएन ।
शनिबार बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रकातर्फबाट संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय पनि बैठकले गरेको थियो ।

बैठकको अर्को एजेण्डा पार्टीको नाम परिवर्तन रहेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँत्याइदिए लगत्तै माओवादी केन्द्रभित्र नाम परिवर्तनको विषयले प्रवेश पाएको थियो । मंगलबार र बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नाम परिवर्तनको विषयमा अनौपचारिक छलफलसमेत भएको थियो । त्यसबारे बैठकले निर्णय गर्ने भएको छ ।

नेताहरुका अनुसार ऋषि कट्टेलसँग एकता गरेर पार्टीको नाम नेकपा नै राख्ने, नेपाल कम्युनिष्ट पार्टीका पछाडि केही जोड्ने वा नेपाली कम्युनिष्ट पार्टी राख्ने विषयमा छलफल भएको छ । माओवादी केन्द्रले यसअघि पनि नाम परिवर्तन गर्दै आएको छ । पछिल्लोपटक एकीकृत माओवादीले विभिन्न समूहसँग एकता गर्दै २०७२ जेठ ६ मा पार्टीको नाम बदलेर माओवादी केन्द्र बनाएको थियो । त्यसअघि २०६५ मा तत्कालीन माओवादी र एकता केन्द्र मसालबीच एकतापछि दाहालले आफू नेतृत्वको पार्टीको नाम माओवादी केन्द्र बनाएका थिए ।

तत्कालीन माओवादी केन्द्र र एमालेबीच २०७५ जेठ ३ मा एकता भई नेकपा बनेको थियो । तर, अदालतले ऋषि कट्टेल नेतृत्व नेकपालाई वैधानिकता दिएपछि एमाले र माओवादी केन्द्रबीचको एकता भंग भएको छ ।