प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीचको वार्ता सम्पन्न, मिलेर जान सुझाव
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल सम्पन्न भएको छ । दुवै नेताबीच मिलेर जाने विषयमा छलफल भएको छ । छलफलमा नेताहरुले आआफ्नो अडान र धारणा राख्नुभएको बैठकमा सहभागी नेता रधु पन्तले बताउनुभयो । ‘वार्ता सौहार्यदपूर्ण भयो। सकरात्मक भयो। एकअर्काका कुरा सुन्ने, बुझ्ने काम भयो, पत्रकारहरूसँग उहाँले भन्नुभयो, ‘हामीले आफ्ना अडान राख्यौं।’
अध्यक्ष ओलीले सकारात्मक रूपमा वार्ता अगाडि बढाउने आफूहरूको अपेक्षा रहेको पनि पन्तले जानकारी दिनुभयो। पत्रकारले कस्तो अडान राख्नुभयो भनेर राखेको जिज्ञासाको जवाफमा उहाँले आफूहरुले फागुन २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरेको बताउनुभयो ।
उहाले अदालतले एमालेलाई सुदृढ बनाउने अबसर दिएको र अब त्यस तर्फ लागौं भन्ने कुरा भएको छ । अब सोही रुपमा बार्ता अगाडि बढ्छ ।
पार्टी मुख्यालयमा भएको छलफलमा दुबै नेताले आ–आफ्ना पक्षका नेताहरु पनि सहभागी हुनुभएको थियो ।
सर्वोच्च अदालतले ओली–दाहाल अध्यक्षताको नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि नेकपामा रहँदा दुई किनारामा पुगेका ओली र नेपालबीच चार महिनापछि भेटवार्ता र छलफल भएको हो ।
छलफलमा प्रधानमन्त्री ओलीका साथै ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ हुनुहुन्थ्यो भने बरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी हुनुभयो ।
ओली र नेपालबीच पछिल्लो पटक गत कात्तिक २५ मा भेट भएयता भेटवार्ता भएको थिएन ।
सर्वोच्चको फैसलापछि ब्यूँतिएको नेकपा एमालेमा आन्तरिक विवाद बढेका बेला भएको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।