नेपाल खनाल समूहले कार्यकर्ता भेला गर्ने

maitrinews

 

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ता भेला रोक्न आग्रह गरे पनि सो समूहले नरोक्ने भएको हो । सो समूहले भोलि र पर्सि कार्यकर्ता भेला गर्ने तयारी गरेको छ ।

यो समूहले आयोजना गरेको राष्ट्रिय भेलाको बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले कार्यकर्ता भेला नरोकिने र बरु अध्यक्ष ओलीलाई प्रमुख अतिथि बनी भेलामा सहभागी हुन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो समूहको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय भेलामा जाने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिनुभएको थियो ।

‘तपाई आफैं पार्टी अध्यक्ष हुनुहुन्छ। तपाई आफै आउनुहोस्। देशभरबाट आएका कार्यकर्तालाई के(के भन्नुछ, भन्नुहोस्’ भट्टराईले भन्नुभयो ।