एमालेले पार्टीको निर्णय नमान्नेलाई कारबाही गर्ने

maitrinews

 

काठमाडौँ । नेकपा एमालेले पार्टीको निर्णय नमान्ने नेता, सांसद तथ कार्यकर्तालाई कारकाही गर्ने भएको छ । नेकपा एमालेका संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्‍न सांसदहरुलाई निर्देशन दिएको छ । बालुवाटारमा आज बसेको बैठकले पार्टी बाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो ।

गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । तर दलको बैठकको निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ । ‘पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टिकरण र कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।
त्यसैगरी बैठकले नेकपा एमालेको संसदीय दलको बोर्ड गठन गरेको छ । बोर्डमा केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ, विशाल भट्टराई, शान्ता चौधरी, रघुवीर महासेठ, शेरबहादुर तामाङसहित २७ जना रहनेछन् । बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिएको छ ।
कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहनुभएको छ ।

आजको बैठकमा नेपाल—खनाल समूहका धेरै सांसद सहभागी हुनु भएन । तटस्थ रहनुभएका  लालबाबु पण्डित, तुलसा थापा, नेपाल पक्षका गंगा सत्गौंवा थारु, माया ज्ञवाली, विष्णु शर्मा, कलिना खातुनको बैठकमा सहभागिता थियो । सो समूहले हिजो र आज दुई दिने कार्यकर्ता भेलाको आयोजना गरेको छ । पार्टीको विधानविपरीत आयोजना गरिएको यो गुट भेलाका सहभागीहरुलाई पार्टीले उचित कारबाही गर्ने तयारी गरेको छ ।