गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय,नेपाल खनाल पक्षव्दारा बैठक बहिष्कार

 

काठमाडौँ । पार्टी नीतिविपरीत गुटगत भेला गरेको नेकपा एमालेको नेपाल खनाल पक्षले एमाले संसदीय दल र केन्द्रीय कमिटीको बैठक बहिष्कार गरेको छ । आज बसेका पार्टीको संसदीय बोर्ड, संसदीय दल र केन्द्रीय कमिटीको बैठकमा नेपाल खनाल पक्षको सहभागिता रहेन ।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम भने एमाले संसदीय दलको बैठकमा सहभागी हुनुभयो । एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी हुनुभयो ।

यसैबीच एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

चैत ५ मा गठन गरिएको बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ ।
बोर्ड गठन भएपछि पहिलोपटक बसेको बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।