एमालेमा अध्यक्षलाई बनाइयो शक्तिशाली, पार्टीविरोधी काम गर्नेलाई छैन छुट

maitrinews

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्र बढेको अराजकता रोक्न थप अधिकार प्रदान गरिएको छ । पार्टीको विधान संशोधन गरी केन्द्रीय कमिटीबाट अनुमोदन गराएपछि पार्टीलाई एकढिक्का बनाउन अध्यक्षलाई सजिलो हुने भएको हो । अब पार्टी हितविपरीत काम गर्ने जो सुकै नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीले काराबाही गर्न सक्नुहुन्छ ।
शनिवार सम्पन्न केन्द्रीय कमिटीको १२ औं बैठकले विद्यमान २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको छ । । बैठकले वर्तमान अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल आयोजक कमिटीको क्रमशः अध्यक्ष तथा महासचिव रहने निर्णय गरेको छ । एमालेको १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २ गते देखि ६ गतेसम्म गर्ने निर्णय समेत गरेको छ । यसैगरी संगठन विभाग प्रमुख विष्णु पौडेल र नेता टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनको व्यवस्थापनको जिम्मेवारी पनि दिइएको छ ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९ का दिन नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको स्थल मदननगर बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरिएको छ ।

बैठकले समानुपातिक सांसदको हेरफेर, निर्वाचन आयोग र अदालत लगायतका संवैधानिक निकायमा पत्राचार गर्नेजस्ता सबै अधिकार अध्यक्ष ओली दिएको छ।
बैठकले पार्टी विरोधी गतिविधि गर्ने नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूसालाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ ।