नेपाल पत्रकार महासङ्घलाई चुनाव लाग्यो

maitrinews

 

काठमाडौं । नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५ः१५ बजे मतदाता नामावली प्रकाशन गरिएको छ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२ः ३० बजेदेखि चैत १० गते दिउँसो १२ः ३० बजेसम्म गर्ने गरी तोकिएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।
मतदाताको अन्तिम नामावली चैत ११ गते अपराह्न ४ बजे प्रकाशन गरिने छ । यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०ः३० बजेदेखि अपराह्न ४ बजेसम्म गरिने छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ । उम्मेदवारमाथि दाबी विरोध चैत १३ गते बिहान १०ः ३० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ ।

यसैगरी उम्मेदवारले नाम फिर्ता लिने समय चैत १४ गते अपराह्न ४ बजेसम्म तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ । मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ । महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ ।

केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासङ्घको वेबसाइटमार्फत सार्वजनिक गरिएको सचिव थापाले बताउनुभयो । केन्द्रीय निर्वाचन समितिको कार्यालय महासङ्घको केन्द्रीय कार्यालयमै रहेको छ । यसैगरी प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित एकाइकै निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ । ती एकाइको मनोनय दर्तालगायत प्रक्रिया पनि सम्बन्धित एकाइमै हुनेछ । देशभरबाट निर्वाचनका लागि महासङ्घका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन् ।