एमालेद्वारा समर्थन फिर्ता लिएसँगै कर्णाली प्रदेश सरकार संकटमा

maitrinews

 

सुर्खेत । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सरकार संकटमा परेकोे छ । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले अब प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने भएको छ ।
संविधानको धारा १८८ को २ अनुसार सरकारमा रहेको दल विभाजन भए वा समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव गर्नुपर्ने व्यवस्था छ ।

प्रदेश सभामा कायम रहेका सदस्यको बहुमत पु¥याए मात्रै मुख्यमन्त्री शाही नेतृत्वको सरकार कायम रहन्छ । कर्णालीमा सरकार बनाउन २१ जना सांसद चाहिन्छ । नेकपा एमालेमा २० जना सांसद छन् । उसलाई सरकार बनाउन अर्को कुनै एक दलले समर्थन गर्नुपर्छ । यस्तै माओवादीका १३ सांसद छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । एमालेलाई नयाँ सरकार बनाउन राप्रपाको समर्थन लिए पुग्छ ।