चीनको कोरोना खोप लगाइँदै

maitrinews

 

काठमाडौं । चीन सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । आजबाट उपत्यकामा सिभिल अस्पताल टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुवेर्दीक शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा दिन थालिएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो ।
उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।