जसपाका माग पूरा हुने, सरकारमा जान गृहकार्य सुरु

maitrinews

काठमाडौं । जनता समाजवादी पार्टीले अगाडि सारेका मागप्रति सरकार सकारात्मक बनेको छ । माग पूरा गर्ने प्रतिबद्धता अनुसार मधेश आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा र बन्दीको विवरण गृहमन्त्रालय पठाइएको छ । जसपाका माग पूरा हुने भएपछि सो पार्टीले सरकारमा जाने गृहकार्यसमेत सुरु गरेको छ ।
सत्ता समीकरणका लागि जसपाले मधेश आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, बन्दीको रिहाइ हुनुपर्ने, घाइतेको उपचार हुनुपर्ने संविधान संशोधन हुनुपर्ने र मधेश थारुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सरकार समक्ष राखेको छ ।
सोहि माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रिया अगाडि बढाएसँगै जसपाले मुद्दा र बन्दीको विवरण गृहमन्त्रालय पठाउन शुरु गरेको हो ।
जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रियासम्बन्धी कार्यविधिसमेत पास गरेको छ । सोहि कार्यविधि अनुसार सरकारले जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फाराम भर्न लगाएको थियो ।
जसपाको नेता एवं कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्लले मुद्दा र बन्दीको विवरण गृहमन्त्रालय पठाउन शुरु भएको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाले राखेको माग पूरा गर्न कार्यदल बनाउनुभएको छ । कार्यदलमा सरकारका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई हुनुहुन्छ भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मलाल कर्ण हुनुहुन्छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूह मधेश आन्दोलनका क्रममा उठाइएका माग पूरा भए सरकारमा जान तयार छ । त्यहिकारण सरकारले जसपाको माग सम्बोधनका लागि कानुनी प्रक्रिया अघि बढाएको हो ।