जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको पद

सुर्खेत । नेकपा एमालेका चार प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ ।

आफूलाई प्रदेश सभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ ।

प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । मतदानमा प्रदेश सभाका ३९ सांसदमध्ये ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए ।

प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो ।

नेकपा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिनुभयो ।

प्रदेशसभामा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन नेकपा एमालेले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको थियो ।