सेतो मच्छिन्द्रनाथको रथयात्रा जारी

maitrinews

 

काठमाडौँ । सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा हिजो केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।
पहिलो दिन हिजो रथ असनमा राखिएको छ भने आज हनुमानढोकास्थित कालभैरव अगाडि राखिन्छ ।
असनमा गएराति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्नुभयो । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो । रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय भनेर पुजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको काठमाडौँ महानगरपालिका–२५ का अध्यक्षसमेत रहनुभएका समिति संयोजक शाक्यले बताउनुभयो ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट  कालभैरव अघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ ।