लोकतन्त्रको उपहास

maitrinews

 

पोखरा । जनताका लागि संघीय लोकतान्त्रिक गणतन्त्र सवैभन्दा उत्तम व्यवस्था हो । यो व्यवस्था विधि र पद्धतिले चल्छ । अनुशासन, लोकतान्त्रिक संस्कार र विधिले मात्र यो व्यवस्था लोकप्रिय हुन्छ । तर यो व्यवस्थालाई नेताले आफ्नो सत्ता स्वार्थमा प्रयोग गर्यो भने विकृति ज्याउँछ र व्यवस्थालाई नै बदनाम गर्छ । अहिले गण्डकी प्रदेशमा सरकार टिकाउने नाममा लोकतन्त्रको उपहास गर्ने काम भएको छ । यसले मुलुकलाई र पार्टीलाई बदनाम मात्र गर्छ,कुनै फाइदा गर्दैन । मन्त्रालय फुटाएर दीपक मनाङेलाई मन्त्री बनाए पनि गण्डकी प्रदेश सरकारको सङ्कट टर्ने लक्षण देखिएको छैन । मनाङेजस्तो बदनाम चरित्रलाई प्रोत्साहन गर्दा मुलुक विकृति र विसंगतिको दलदलमा फस्छ ।
गण्डकी प्रदेश सभामा सरकार विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा मतदान हुने भनिएको दिन मोबाइल अफ गरेर बसेका प्रदेश सांसद दीपक मनाङेले अनन्त मन्त्री पद उपहार पाएसँगै यसले देशव्यापी रुपमा नकारात्मक सन्देश गएको छ । सर्वत्र यसको विरोध, आलोचना र उपहास गरिएको छ ।
मन्त्री बनेका गुरुङलाई मन्त्री बनाउनकै लागि सामाजिक विकास मन्त्रालय फुटाएर नयाँ बनाइएको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रदेश सरकार विरुद्ध आएको अविश्वासको प्रस्तावबाट बच्नका लागि गुरुङलाई मन्त्री बनाइएको भए पनि गण्डकी प्रदेशमा सत्ता सङ्कट भने टरेको छैन । ६० सदस्यीय रहेको प्रदेश सभामा सत्तारुढ नेकपा एमालेको गुरुङ समेत जोड्दा २८ सदस्य पुग्ने देखिन्छ भने काङ्ग्रेस माओवादी जसपा र जनमोर्चाका समेत जोड्दा प्रस्ताव पास हुन चाहिने ३१ जना प्रदेश सभा सदस्य पुग्ने अवस्था छ ।

बुधवार राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही एकाएक गायब भएर अस्पताल पुगे पछि सरकार विरुद्धको प्रस्ताव पास नहुने अडकलबाजी सुरु भए बिहीबार शाहीले आफू अस्पतालमा रहेको र पार्टीको निर्णय मान्दै प्रस्तावको पक्षमा रहने विज्ञप्ति निकाले पछि अब बस्ने प्रदेश सभा बैठकमा फेरि कुनै अनौठो नभए सरकार विरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पास हुने देखिएको छ ।
यस्तो अवस्थामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार टिकाउने नाममा जेजस्तो खेल खेलिरहनुभएको छ यसले मुलुक, व्यवस्था,पार्टी र स्वयं उहाँलाई कुनै फाइदा गर्दैन ।

प्रहरीको रेकर्डअनुसार मनाङ्गे काठमाडौंको पुरानो गुण्डामध्येमा पर्छन् । २०४६ सालको जनआन्दोलनपछि नेपालमा गुण्डागर्दी मौलाएको हो । उनी पनि त्यसपछि नै ठमेलमा गुण्डाको रुपमा उदाएका हुन् । काठमाडौं प्रहरीमा लामो समय काम गरेका एक अधिकृतका अनुसार मनाङ्गेले ठमेलमा टाउको उठाउँदै गर्दा उपत्यकामा अर्का गुण्डा चक्रे मिलेन मात्रै थिए । ठमेलमा डान्स बार र रेष्टुरेन्टहरु खुल्दै जाँदा मनाङ्गले हप्ता असूली गर्न थालेका थिए ।

प्रहरी अधिकृतहरुका अनुसार उनी ‘सलामी’ भन्दै रकम उठाउँथे । नदिनेहरु उनको समूहको निशानामा परिहाल्थे । उनले होटलहरुमा जम्मा हुने वियरको खाली बोतल समेत छोड्दैनथे । खाली बोतल संकलन गरेर विक्री गर्दा राम्रो कमाई हुने देखेपछि त्यसमा हात हालेका उनले महिनामा १०र१२ लाखसम्म कमाएको एक प्रहरी अधिकृत सुनाउँछन् ।

०५९ सालमा ठमेलको एक्सजोन डिस्कोमा नेपाली सेनाका एकजना मेजरलाई कुटपिट गरेपछि चाहिँ उनी चर्चामा आए । आफू पनि कारबाही गर्ने डरले मेजरले उजुरी त दिएनन्, तर प्रहरी प्रतिवेदनकै आधारमा सार्वजनिक अपराध ऐनअनुसार कारबाही प्रक्रिया अघि बढेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला पनि सुनायो ।

तर आफू दिपक मनाङ्गे नभए राजीव गुरुङ भएको दाबी गर्दै सर्वोच्च अदालत गए र उनी रिहा पनि भए । पुनरावेदनमा उच्च अदालत, पाटनले भने दिपक मनाङ्ग र राजीव गुरुङ एउटै भएको प्रहरीको प्रमाणलाई स्वीकार गर्‍यो र, पुनः एक वर्ष कैद सजायको फैसला भयो ।

त्यही बेला राजधानीमा अरु गुण्डा समूहहरु जन्मिए, मनाङ्गेको प्रभाव कमजोर हुँदै गयो । महाराजगञ्ज क्षेत्रका मिलन चक्रे र चाबहिलका राजु गोर्खालीले गिट्टी बालुवा र जग्गा व्यवसायमा हात हाल्न थाले । मनाङ्गेको रजगज चाहिँ ठमेल क्षेत्रमै सीमित थियो, झगडा मिलाइदिने र हप्ता असूलीले मात्र नपुग्ने भएपछि उनले चक्रेको क्षेत्रतिर हात हाल्ने कोसिस गरे । डिस्कोमा काम गर्ने बाउन्सर गणेश लामालाई पनि उनले आफ्नो समूहमा सामेल गराए ।

काठमाडौंको गुण्डागर्दी दुनियाँमा पकड बढाउने क्रममा उनको समूहको बानेश्वरका मिलन सेक्सीसँग पनि झगडा हुन थाल्यो । पानीपोखरीको चुफाङ रेष्टुरेन्टमा मनाङ्गेको समूहले २१ वैशाख २०६१ मा चक्रे मिलनलाई आक्रमण गर्‍यो । मिलनको देब्रे हात छिन्यो, मनाङ्गेसहित उनका समूहका रवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामाविरुद्ध किटानी जाहेरी पर्‍यो । घटनामा १८ चैत २०६१ मा उनी पक्राउ परे, कुटपिट कसूरमा उनी दोषी ठहरिए । जिल्ला अदालत, काठमाडौंले २ वर्ष कैद सजायको फैसला सुनायो ।

सजाय काटेर २८ माघ २०६३ मा उनी थुनामुक्त भए । तर जिल्लाको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत, पाटन गयो । अदालतले ज्यान मार्ने उद्योग ठहर गर्दै ५ वर्ष जेल सजाय सुनायो, अरुलाई सफाइ दियो । त्यसविरुद्ध सरकारी वकिलको कार्यालय सर्वोच्च गयो । अदालतमा मनाङ्गेको तर्फबाट कुनै दाबी प्रस्तुत नभएको र पुनरावेदनको समय पनि सकिएको भन्दै जेल जानुको विकल्प नभएको आदेश भएको थियो । ६ वैशाख २०७५ मा उनलाई काठमाडौं प्रहरीले स्वयम्भुबाट पक्राउ गरेको थियो ।

प्रहरी अधिकृतहरुका अनुसार पछिल्लो समय उनका अपराधिक गतिविधि देखिएका थिएनन् । यद्यपि प्रहरीले उनीमाथि निगरानी छाडेको थिएन, हाल उनी यार्सागुम्बा लगायतका जडिबुटीको व्यवसायी गरिरहेको प्रहरी रेकर्डले देखाउँछ ।

नेपालमा गुण्डागर्दीमा संलग्नहरुले प्रहरीबाट बच्न राजनीतिक फेरो समात्ने गरेका छन् । मनाङ्गे पनि ०४७ सालदेखि ०६८ सालसम्म अधिकांश समय राप्रपासँग जोडिएका थिए । तर, ०६२र०६३ को आन्दोलनपछि राप्रपा कमजोर बन्दै जाँदा उनले अन्य दलहरुको फेरो समात्न थाले ।

२०६६ फागुन ५ मा उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरे, ०६८ सालतिर संघीय समाजवादी पार्टी प्रवेश गरे । ०७३ सालमा राप्रपा प्रवेश गरेका उनी एक वर्षपछि एमालेमा प्रवेश गरे ।

मनाङ्गको प्रदेशसभा क्षेत्र नं। ‘ख’बाट उनलाई २०७४ सालमा एमालेले टिकट दिने निर्णय गर्‍यो । तर सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा व्यापक विरोध भएपछि पार्टी निर्णयबाट पछि हट्यो । मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दिए, एमालेले कसैलाई उठाएन ।

चुनावमा विजयी भए पनि अदालतको आदेशपछि उनले सपथ लिन पाएनन् । नख्खु कारागारबाट ६ महीनापछि थुनामुक्त भएसँगै उनले १५ पुस २०७५ मा सपथ ग्रहणको माग गर्दै प्रदेशसभामा निवेदन दिए ।

उनले सपथ लिन पाउने वा नपाउने विवादकै बीच १४ माघमा सपथ ग्रहण गरे । माननीय बनेपछि पनि मनाङ्गेको शैली भने फेरिएन । २०७६ माघ पहिलो साता मनाङ्गेले कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हाने ।

पोखराको भण्ढारढिकमा भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनको तयारी भइरहेका वेला उनले गुरुङलाई झापड हानेका थिए । कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले उनलाई ९ माघमा पक्राउ गर्‍यो । तर, मनाङ्गेले भ्रष्टाचार मौलाएको र आफूले व्यक्तिमाथि नभइ प्रवृत्तिमाथि प्रहार गरेको दाबी गरे ।