संक्रमण बढेपछि कास्कीमा लम्बियो निषेधाज्ञा
पोखरा । कोरोनाको संक्रमण ह्वात्तै बढेपछि कास्कीमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइने भएको छ ।
जोरबिजोरका आधारमा सवारी साधन चल्ने दिने गरी वैशाख १५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई कडाइ पार्दै महिनाभरिका लागि लम्ब्याइएको छ ।कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले २१ गतेदेखि सवारी साधन सञ्चालनमा समेत रोक लगाउने निर्णय गरेको छ ।
अत्यावश्यक र सरकारी सवारी साधनहरुबाहेकका कास्की जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरू पनि सञ्चालन गर्न नपाइने निर्णय गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो ।
‘होटल, रेष्टुरेण्ट, चिया तथा खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुट्सल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, शैलुन, सुनचाँदी, टेलरिङ, फुटपाथ पसलहरु लगायतका सेवा एवम् स्थलहरु नखोल्ने तथा सञ्चालन नगर्ने निर्देशन जारी गरेका छौं,’ सहायक सिडिओ पौडेलले भने, ‘विवाह, व्रतवन्ध एवम् अन्य संस्कारजन्य कार्यक्रमहरु पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न नपाइने र घरमा सञ्चालन हुँदा १८ जना भन्दा बढि व्यक्ति सहभागी हुन पाउँदैनन् ।’
अत्यावश्यक काममाबाहेक घर बाहिर ननिस्कन र हिडडुल नगर्न भनिएको छ भने सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न पनि बन्देज लगाइएको छ ।