बैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने–नेताहरुमा दौडधुप
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदवाट बैशाख २७ गते सोमवार विश्वासको मत लिने भएको छ। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक दौडधुपमा तिब्रता आएको छ। त्यस्तै, राजनीतिक दलहरुको पनि दौडधुप तीव्र भएको हो। प्रधानमन्त्री ओलीले वैशाख २७ गते आह्वान गरिएको प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रयासमा लागेका छन्भने, विपक्षी दलहरू जसरी पनि प्रधानमन्त्री ओलीलाई अल्पमतमा पार्ने प्रयासमा लागेका छन् ।
प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने निर्णय गरेको पर्सिपल्ट मंगलबार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको भोलिपल्ट अर्थात वैशाख २२ गते बुधबार प्रधानमन्त्री ओली आफू निकट नेताहरूलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए।
भेटवार्तामा प्रधानमन्त्री ओलीले कांग्रेससँग विश्वासको मत माग्दै सहकार्यको प्रस्ताव गरेका थिए। तर, कांग्रेसले सरकारलाई विश्वास गर्ने वातावरण नभएको भन्दै मत दिन नसकिने जवाफ दियो । सरकारलाई तत्कालका लागि समर्थन गर्न नसक्ने भए पनि सच्चिएको खण्डमा कुनै समय साथ दिनसक्ने कांग्रेसको भनाइ छ ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा असफल बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको झलनाथ खनाल र माधव नेपाल समूह तथा जसपाको भट्टराई–यादव पक्षबीच पटक–पटक छलफल भइसकेको छ । बिहीबार साँझ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुढानिलकण्ठमा भेटवार्ता भएको थियो।
त्यस्तै, शुक्रबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाबीच बुढानिलकण्ठमै भेटवार्ता भएको समाचार स्रोतले जनाएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट साथ नपाउने भएपछि प्रधानमन्त्री ओली आफ्नो दल एमालेलाई एकजुट बनाउने र जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई आफूतिर तान्ने प्रयासमा लागेका छन्।
नेकपा एमालेको आन्तरिक विवादलाई समाधान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले पनि प्रयास गरिरहेकी छन्। यसबीचमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पटक–पटक भेटवार्ता भइसकेको छ भने एमालेभित्रको आन्तरिक विवाद समाधान गर्ने प्रयास स्वरूप बिहीबार साँझ एमाले नेता माधव कुमार नेपाललाई शितल निवास पुगेर राष्ट्रपतिसंग भेटवार्ता गरेका थिए। नेता नेपाल फर्किए लगत्तै प्रधानमन्त्री ओली पनि बिहीबार साँझ नै शितल निवास पुगे ।
पार्टीभित्रको आन्तरिक विवाद मिलाउन एमालेका दोस्रो तहका नेताहरू पटक–पटक छलफल गरे पनि सकारात्मक हुन सकेको छैन । यसबीचमा जनता समाजवादी पार्टी जसपालाई आफ्नो कित्तामा ल्याउन प्रयास स्वरूप प्रधानमन्त्री ओली र विपक्षी नेताहरूले छलफलमा छन्।