नेकपा एमालेमा आपसी विवाद सल्टाउन सहमत

Smrit

काठमाडौं । सत्तारुढ नेकपा एमालेको आपसी विवाद सल्टाउन सहमत भएको छ । नेकपा एमाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीलाई २०७५ साल जेठ २ अर्थात माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्थामा फर्काउन सहमत भएपछि नेकपा एमाले विवाद किनारा लाग्ने देखिएको हो ।

शुक्रवार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच हिजो आफ्ना पक्षका नेताहरुसहित फेरि वार्ता भएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किने सहमति भएको नेपाल समुहको दावी छ ।

जेठ २ मा फर्किएर समस्याको समाधान खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमतिमा उल्लेख छ। नेताहरुका अनुसार अब बन्ने कार्यदलले माओवादी केन्द्रबाट आएका नेताहरुदेखि २ जेठमा फर्किँदा कायम हुने एमालेको संरचना र त्यसको नेतृत्वबारे निर्णय गर्नेछ। नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको थियो ।