ओली सरकारको नयाँ मन्त्री मण्डलमा २ राज्य मन्त्री र ८ मन्त्री जसपा महन्थ पक्षको भागमा

maitrinews

 

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा जुटेको छ। उक्त पार्टीका एक नेताका अनुसार आफूहरूले उठाएका माग ओली सरकारले पूरा गर्दै गएकोले सरकारमा जानुपर्ने मत अध्यक्ष महन्थ पक्षभित्र छ। प्रधानमन्त्री ओलीले पहिलेदेखि नै सरकारमा आउन आग्रह गरिरहे पनि वातावरण अहिले आएर बनेकोले पनि ओली सरकारमा सहभागी हुने उनले बताए।

उनका अनुसार ‘हामीले राखेका माग ओली सरकारबाट पूरा भइरहेका छन्। अब हाम्रो छलफल सरकारमा सहभागिता जनाउने विषयमा नै केन्द्रीत हुन्छ । जसपाका ती नेताका अनुसार ‘प्रधानमन्त्रीले ८ मन्त्रालयमा मन्त्री र थप २ राज्य मन्त्री पठाउन भन्नु भएको छ। यसरी जसमा महन्थ पक्षले जम्मा १० जना मन्त्री पाउने छन् । बालुवाटार स्रोत अनुसार प्रधानमन्त्रीले अहिले रहेका मन्त्रीमण्डलमा सामान्य हेरफेर गरिने र जसपा महन्थ पक्षका १० जनालाई मन्त्रीमण्डलमा सहभागी गराईने छ ।
नेकपा माओवादी छाडेर एमालेमा आएकालाई दिइएको ७ मन्त्रालय केही दिनदेखि रिक्त छ। ती मन्त्रालय प्रधानमन्त्री ओली आफैँले हेर्ने गरी राखेका छन्। माओवादी छाडेका एमाले आएकाहरू गैरसांसद रहेकोले मन्त्रीबाट हट्नुपरेको थियो।
संविधानअनुसार २५ जना मन्त्री बनाउन मिल्छ। जसपाका अर्का अध्यक्ष बाबुराम भट्टराई, उपेन्द्र यादव पक्ष भने सरकारमा जाने पक्षमा छैन। उनीहरूले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध गरिरहेका छन्। ओली सरकारको विकल्प खोज्नुपर्नेमा भट्टराई र यादव छन्। साथै उनीहरूले हालै केन्द्रीय कार्यकारिणी समिति बैठक गरेर सरकारमा गए कारवाही गर्ने चेतावनी दिएका छन्।