स्वास्थ्य संकटकाल लगाउन सकिने : स्वास्थ्यमन्त्री त्रिपाठी

maitrinews

 

काठमाडौं । स्वास्थ्य मन्त्रालयमा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले संक्रमणको दरलाई हेर्दा अबको ४ हप्तामा घट्दै जाने देखिएको जानकारी दिनुभयो ।
उहाँले अझै पनि केही स्थानमा आवातजावत भइरहेको र केही कार्यालयहरु पनि खुलिरहेका कारण संक्रमणमा अनुमान गरे भन्दा उल्लेख्य कमी नआएको बताउनुभयो । कार्यक्रममा मन्त्री त्रिपाठीले भन्नुभयो,‘ संक्रमितको उपचारका साथै नियन्त्रण गर्न हामी लागिरहेका छौं, अहिलेको अवस्थालाई हेर्दा आगामी ४ हप्तामा संक्रमण क्रमश घट्दै जाने देखिन्छ ।’

देशमा राजनीतिक हलचल भएपनि स्वास्थ्य मन्त्रालय कोरोना महामारीको युद्धमा निरन्तर लडिरहेको मन्त्री त्रिपाठीले बताए । खोप खरिदका लागि राजनीतिक, कुटनीतिक व्यक्तिगत तवरबाट निरन्तर पहल भइरहेको उनले बताए ।

कोभिशिल्ड खोप पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा पाउन सक्ने उनले संकेत दिए । कोरोनाविरुद्धको खोप खरिदका लागि छलफल केही देशहरुसँग अन्तिम चरणको पुगेको उनको दाबी थियो । यस्तै युरोपेली संघसँग मौज्दातमा रहेको खोप ल्याउने विषयमा छलफल भइरहेको उनले बताए ।
त्रिपाठीले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेका छन् । कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने भएकाले रोकथामका लागि स्वास्थ्य संकटकाल लगाउन सकिने विषयमा छलफल भइरहेको स्वास्थ्य मन्त्री त्रिपाठीले बताए ।