सुदूरपश्चिममा मन्त्री हेरफेर; तीन जनाले राजीनामा दिए, पाँच मन्त्री नियुक्त

maitrinews

 

धनगढी ।  सुदूरपश्चिमको मन्त्रिपरिषद् फेरबदल भएको छ। शुक्रबार नेकपा एमालेको माधवकुमार नेपाल समूहले त्रिलोचन भट्टको सरकारमा नयाँ मन्त्री पठाएको हो। सुदूरपश्चिम प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका छन् भने पाँच मन्त्री नियुक्त भएका छन् ।

नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले भट्ट सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए पनि एमालेको सुदूरपश्चिम संसदीय दलले उक्त निर्णयविरूद्ध सरकारमा थप मन्त्री पठाएको हो। एक जना भने सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिएका हुन् ।

लगत्तै एमालेबाट चार र माओवादी केन्द्रबाट एक मन्त्री नियुक्त भएका छन् । मन्त्रीमा दोहोरिएका शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि उनले सम्हालेको आन्तरिक मामिलामा पूर्णा जोशी आएकी छन् भने दीर्घ सोडारीलाई भौतिक पूर्वाधार र लालबहादुर खड्कालाई जोशीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् ।